दाजुभाई हुँदा पनि खल्लो लाग्ने तिहार

-सुस्मिता पौडेल

दशैँ पछि नेपाली हिन्दु धर्मवलम्बीहरुको दोश्रो ठूलो चाड हो तिहार । दशैँ सकिएलगतै ठ्यक्कै १५ दिनपछि सुरु हुने तिहारको रमझमनै बेग्लै हुन्छ। तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती, फुलै फुलको मौसम, जताततै रमाईलो आदि बुझिन्छ । पाँच दिनसम्म मनाईने तिहारको विशेष दिन भने भाईटिकाको दिनलाई बुझिन्छ ।

तिहारको पाँचौ दिन भाईटिका अर्थात दिदीबहिनीले दाजुभाईको रक्षाका लागि लगाईदिने टीका । सो दिन दाजुभाई हुने दिदिबहिनीहरुले त टीका लगाईदिएर रमाईलो गर्नुहुन्छ भने बिचरा ती निर्दोष दिदिबहिनी जसको न दाइ छ न भाइ छ कत्ती मन दुख्दो होला । सबैको निधारमा सप्तरङी टीका देख्दा उनिहरुलाई पनि टीका लगाउने मन त हुँदो हो तर जसो तसो चित्त बुझाउनुहुन्छ होला ।

तिहारमा सप्तरङी टीका लगाउन मन हुँदा हुँदै पनि टीका लगाउन नपाउँदाको पीडा मैले पनि भोगेको छु ।
दाजुभाई हुँदा हुँदै पनि टीका लगाउन नपाउँदा मनमा पीडा नै हुने रहेछ । कारण दाजुभाई दुबैजना बिदेशमा ।
दाई वैदेशिक रोजगारीको क्रममा दुबईमा साथै भाइ पढाईको शिलशिलामा अमेरिकामा । विगत केही वर्ष देखि हामी तीनै जनाको निधार खाली.. कारण हामी धेरै टाढा.. उनिहरुलाई पनि टीका लगाउन त मन हुँदो हो तर के गर्नु हामी सबैजना अलग अलग अनि छुट्टा छुट्टै देशमा । खैर, केही छैन अबको केही वर्षमा त संगै भाईटिका लगाउन पाईहालिन्छ नि ।
यो त एउटा ज्वलन्त उदाहरण मात्रै हो । हाम्रै समाजमा यस्तो उदाहरण अरु धेरै भेटिन्छ्न्। दाजुभाई, दिदीबहिनी हुँदाहुँदै पनि यस्तै बाध्यात्मक स्थितिका कारण कतिपयले निधार खाली राख्नुपर्ने हुन्छ ।

हुन त अहिले जमाना धेरै नै बद्लिसक्यो । दाजुभाई नहुने दिदिबहिनिले एकआपसमा टीका लागाएर भाईटिका मनाउनुहुन्छ भने पहिलाको जमनामा यस्तो हुँदैन थियो । जमाना संगै अघि बढ्नु पर्छ त्यसैले अहिले मानिसहरु आफ्नो खुशी आफैं बनाउन लागेका छन् ।

अरुको निधारमा सप्तरङी टीका देख्दा उनिहरुलाई पनि त्यस्तै टिका आफ्नो निधारमा लगाउन मन लाग्दो हो, त्यसैले कतिपय दिदिबहिनिले एकआपसमा टीका लगाईदिएर साथै खुशी साटेर तिहारको भाईटिका मनाउनुहुन्छ ।

एक हिसाबले यो अत्यन्तै राम्रो कामको थालनि हो किनकि जसको दाजुभाइ वा दिदिबहिनि छैन के उनिहरुले चाहिँ तिहार मनाउनै नपाउने त? कतिपयले यसलाई सजिलै स्विकार्नु हुन्छ भने कतिपयले विरोध समेत जनाउनुहुन्छ किनकि प्राचीन परम्परा अनुसार दिदिबहिनीले आफ्नो दाजुभाईको दिर्घायू साथै सम्पूर्ण दुख, कष्ट हटेर जाओस् भन्ने कामनाका साथ भाईटिका मनाईन्थ्यो ।

हुन त नेपाली समाज न हो, हौसला र साथ दिनुभन्दा पनि विरोध धेरै हुने गर्छ ।अहिले पछिल्लो समयमा पनि यस विषयबारे बेला बखतमा विरोध हुने गरेको छ । मान्छेले चन्द्रमामा पनि दाग देख्छ । कसैले केही अनौठो केही गर्न लाग्यो भने पनि उसको विरोध गर्न सुरु गरिहाल्छ । यो त झन धर्म संस्कृतिको विषय, विरोध नहुने त कुरै भएन ।

तर सधैं विरोधमा मात्रै अग्रसर नेपाली आखिर कहिले सम्म? अरुको खुट्टा तान्न रुचाउने नेपालीले अरु खुशी भएको देख्न नसक्ने आखिर कहिले सम्म?? हामी नेपाली कहिल्यै नसुध्रीने?? यी यावत प्रश्नको जवाफ तपाईहरुले आफैंलाई दिनुहोस् अनि आफैं मनन गर्नुहोस् । किनकि अरुको चासो गर्ने होईन आफ्नो ख्याल गर्ने हो। अरुको खुशीमा डाहा गर्ने होईन हौसला दिन सक्नु पर्छ । यहाँ हरेक मानिसलाई खुशी भएर बाच्न पाउने अधिकार छ । दिदिबहिनिले एकआपसमा टीका लगाईदिँदा उनिहरु खुशी छन् भने अरुलाई के को टाउको दुखाई??? आफ्नो काममा ध्यान दिनुस् महोदय अरुको खुशीमा होईन । त्यसैले विरोध मात्रै होईन चाडपर्वमा कसैको निधार खाली हुँदाको पीडा पनि बुझ्ने कोशिस गरौँ । धन्यवाद ।।।

 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button