सत्ता कब्जाका १३ दिन : अफगानिस्तानमा कुन–कुन समूह सक्रिय छन् ?

तालिबानी लडाकुहरुले काबुल कब्जा गरेको १३ दिन भयो । तर यस अवधिमा सिंगो अफगानिस्तान उनीहरुको कब्जामा भने छैन ।

यहाँ तालिवान विरोधी शक्तिहरु पनि उत्तिकै सक्रिय छन् । त्यस्तै, अन्य धेरै आतंकवादी शक्तिहरु पनि शक्ति प्रदर्शनमा लागेका छन् । यसैको उदाहरण हो –बिहीबार काबुल विमानस्थलमा भएको आतंककारी हमला ।

यस बिस्फोटमा मर्नेको संख्या १ सय नाघिसकेको छ, आईएसआईएस–केले यो विस्फोटको जिम्मेवारी लिइसकेको छ ।

तालिवान

यो समूहले अफगानिस्तान कब्जा गरेको घोषणा गर्दै विजय उत्सव मनाइसकेको छ ।

उसले आगामी मन्त्रिमण्डलमा सहभागी हुने आफ्ना नेताहरुको नाम पनि घोषणा गरिसकेको छ । तालिवानका झन्डै ८० हजार लडाकुहरुले २ लाखभन्दा धेरै संख्यामा रहेका अफगानी सेनालाई हराएर काबुल कब्जा गरेका हुन् ।

सन् १९९६ मा पनि उसले काबुल कब्जा गरेको थियो र त्यसको पाँच वर्षसम्म अफगानिस्तानमा शासन ग¥यो ।

२००१ मा अमेरिकी र नेटो सैनिकको हमलापछि तालिबानी सत्ता ढलेको थियो । त्यसपछि तितरवितर भएका लडाकुहरु फेरि जुटेर, नयाँ सदस्यहरु थप्दै तालिवानले काबुल कब्जा गरेको हो ।

अलकायदा कहाँ छ ?
पछिल्ला वर्ष तालिबानले अलकायदासँगको सम्बन्धलाई चेक एन्ड ब्यालेन्समा राखेको छ,  अलकायदा र अन्य आतंककारी समूहलाई अफगानी भूमी प्रयोग गर्न नदिने वाचा उसले २०२० मा गरेको थियो ।

तर, तालिबानले विभिन्न शहर र त्यहाँका जेल कब्जा गरेपछि जेलमा रहेका लडाकुहरुलाई रिहा गरेको थियो ।

यसक्रममा अलकायदाप्रति तालिबानी लडाकुले सद्भावन राख्दा अलकायदाका धेरै लडाकुहरु रिहा भएको विज्ञहरु बताउँछन् । उनीहरुले अब फेरि एकजुट भएर नयाँ दस्ता बनाउनसक्ने विज्ञहरुको आँकलन छ ।

आईएसआईएस–के 
आईएसआईएस–के खुरासन आतंकवादी समूह आईएसआईएस अर्थात् (ईस्लामिक स्टेट इन इराक एन्ड सिरिया) को शाखा संगठन हो ।

यसले अफगानिस्तान र पाकिस्तानमा रहेका जिहादीहरुलाई एकजुट गर्छ । बिहीबार काबुलस्थित हमिद कारजाई विमानस्थलमा यही समूहले बिस्फोट गराएको हो ।

२०१६ यता उसले काबुलमा पटक–पटक हमला गरिसकेको छ । यो संगठनले तालिबानलाई अमेरिकी कठपुतलीहरुको समूह मान्छ ।

तालिबान विरोधीहरु 
२० वर्षअघि जतिबेला काबुलमा तालिबानको सत्ता थियो, त्यतिबेला पनि उज्वेक र ताजाक दस्ताहरुको गठबन्धन नर्थन एलाईन्सले पन्जशीर उपत्यकामा उसलाई पस्न दिएको थिएन । र, अहिले फेरि तालिबानले पुरै देश कब्जा गरिसक्दा पनि यहाँ आफ्नो उपस्थिती देखाउन सकेको छैन ।

अर्थात्, काबुलबाट केवल १ सय ५० किलोमिटर टाढाको यस उपत्यकामा तालिबानले कहिल्यै कब्जा जमाएको इतिहास छैन ।

सेप्टेम्बर ११, २००१ मा अमेरिकामा हमला गर्नुभन्दा केहीअघि अलकायदाका लडाकुहरुले अफगानिस्तानमा नर्थन एलाइन्सका मुख्य नेता अहमद शाह मसुदको हत्या गरेका थिए ।

अहिले नेशनल फ्रन्ट अफ अफगानिस्तान नामक यस दस्तालाई मसुदका छोरा अहमद मसुदले हाँकिरहेका छन् ।

उनीहरु तालिबानविरुद्ध संघर्षरत छन् । तालिबानलाई पन्जशीरमा नछिर्न पनि उनीहरुले चेतावनी दिइसकेका छन् ।  यो गठबन्धनलाई तालिबानविरोधी अन्य गठबन्धनहरुको पनि सहयोग छ ।

अमेरिकाका सहयोगीहरु कहाँ छन् ?
उनीहरु हिँडिसके । अफगानिस्तानका अपदस्थ राष्ट्रपति असरफ गनी विदेश भागिसकेका छन् ।

उपराष्ट्रपति अमरुल्लाह सलेह पन्जशिर उपत्यकामा छन् । राष्ट्रपतिले देश छाडेर हिँडेकाले आफुले उक्त जिम्मेवारी पाउने संवैधानिक प्रावधान रहेको भन्दै उनले यस विषयमा आफु छलफलमा रहेको धारणा केहीअघि राखेका थिए ।

अफगानिस्तानका पूर्व राष्ट्रपतिहरू तथा धेरै नेताहरु अहिले घरमै नजरबन्दमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button