स्थानीय सरकार राजनीति गर्ने ठाउँ होइन: रेनु दाहाल

भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छन्। अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताइन्।

स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गर्ने बताइन्। उनले भनिन्, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद् भए पनि जनताको भावना बुझेर काम गर्छु। स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु।’

पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन्। पहिलो पटक उनी निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो। पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उनले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताइन्।

निर्वाचनअघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उनले दोहोर्‍याइन्। उनले भनिन्, ‘महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ।’

भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उनको भनाइ थियो।

गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उनको भनाइ थियो। उनले भनिन्, ‘विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन्। अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button