
मध्यरातमा प्रहरीले फेला पार्यो दुर्गाप्रसादलाई
आइतबार साँझदेखि हराइरहेका इलामको माई नगरका दुर्गाप्रसाद तिम्सिनालाई प्रहरीले फेला पारेको छ। ४० वर्ष भारतीय जेलमा बिताएका उनलाई गत चैत ८ मा नेपाल ल्याइएको थियो।

उनी इलामको माईनगर १० स्थित घरमा बस्दै आएका थिए। उनको मानसिक स्वास्थ्यको उपचार जारी राखिएको थियो। यही क्रममा उनी आइतबार अपरान्ह ४ बजेदेखि परिवारको सम्पर्क बाहिर थिए।

उनी फेरि हराएपछि परिवारले इलामका प्रमुख जिल्ला अधिकारीलाई खबर गरेका थिए।
‘सिडिओले डिएसपीलाई भनेर प्रहरी परिचालन गर्नुभएछ’, उनका भाइ प्रकाशचन्द्रले सेतोपाटीसँग भने ‘दाइलाई मध्यरातमा प्रहरीले इलामको जौबारीमा फेला पारेको खबर आयो। अहिले उहाँ प्रहरीकै साथमा हुनुहुन्छ, अलि ढु्क्क भयो।’
उनी फेला परेको ठाउँ घरभन्दा झण्डै पैदलमा पाँच घण्टा टाढा दुरीमा छ।
‘हिँडेर जानुभयो कि गाडीमा थाहा भएन’, प्रकाशले भने ‘तर सधैं गाउँमा जाने र घर फर्किने गर्ने उहाँ हिजो हिँडेको हिँड्यै गर्नुभएछ।’
कलकत्तास्थित दमदम जेलबाट उनी चैत ७ मा रिहा भएका थिए। लामो समय बिना सुनुवाई जेलमा रहेकै बेला उनको स्वास्थ्यमा समस्या आएको र उपचार गर्नुपर्ने भारतीय चिकित्सकले बताएका थिए।
नेपाल ल्याउनासाथ उनको उपचार सुरु भएको थियो। तर अहिले पनि उनको स्वास्थ्यमा सुधार आइसकेको भने छैन।
अहिले पनि उहाँको स्वास्थ्यमा कुनै सुधार देखिएको छैन’, प्रकाशले भने ‘दिसापिसाब ओछ्यानमै गर्ने, घरआँगनको फोहोर घरभित्र लैजाने जस्ता कार्य गरिरहनुहुन्छ।’
घरमा ८६ वर्षका वृद्धा आमा र भतिज गोपाल छन्। गोपाल काममा व्यस्त हुनुपर्ने र परिवारका सदस्यहरु टाढा-टाढा रहेका कारण उनको नियमित रेखदेख गर्न गाह्रो परिरहेको उनले बताए।
‘परिवारमा यसै समस्या थियो’, दुर्गाका काकाका छोरा प्रकाशले भने, ‘उहाँको यस्तो गतिविधिले झन् समस्या भएको छ। राम्रो उपचार नगरी अवस्था सुध्रेलाजस्तो लाग्दैन।’
इलामका दुर्गाप्रसाद तिम्सिनाले अनाहकमा ४० वर्ष भारतीय जेलमा बस्नुपर्यो।
स्रोत नखुलेको १० लाखसहित दुई पक्राउ
प्रहरीले रुपन्देहीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लुम्बिनी
सांस्कृतिक नगरपालिका-१३ का २० वर्षीय विष्णु यादव र १९ वर्षीय अनवर मुसलमान रहेका छन्।
लु४३प २६५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शनिबार स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको हो।
पक्राउ परेका दुबैलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।



