
श्वेत गंगा हाइड्रोपावरको १५ लाख ९३ कित्ता आइपिओ बिक्री खुल्ला, क-कसले पाउँछ भर्न ?
काठमाडौं। श्वेत गंगा हाइड्रोपावरको १५ लाख ९३ कित्ता आइपिओ आज (जेठ २३ गते)देखि बिक्री खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ९ हजार ३ सय रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गर्ने आइपिओमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ लाई ११ लाख १५ हजार १ सय कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँ पालिकाको वडा नं ५, ६ र ८ र मन्थली नगरपालिकको वडा नं ११ र १२ र १३ तथा रामेछाप नगरपालिकको वडा नं १ र ३ लाई ३ लाख ९८ हजार २५० कित्ता सेयर छुटाईएको छ। बाँकी ७९ हजार ६५० कित्ता सेयर रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ को लागि निष्कासन गर्ने भएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आइपिओमा लगानीकर्ताले छिटोमा असार ६ गतेसम्म र ढीलोमा असार २१ गतेसम्म आवेदन दिन पाउनेछन्। रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ।
स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा, श्वेत गंगा हाइड्रोपावरको आयोजनास्थाल लिखु तामाकोशी गाउँपालिका वडा नं २ र आयोजनास्थल लिखु तामाकोशी गाउँपालिका वडा नं ४ रामेछापबाट पनि आइपीओ भर्न सकिन्छ। साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।



