मुख्यमन्त्री – बालुवा गिट्टी बेचेर मुलुक समृद्ध बन्दैन

जनकपुर,चैत १९ । नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व अझै हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।

शुक्रबार जनकपुरधाममा साथसाथै नेपाल नामक संस्थाले आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो गुनासो पोखेका हुन् । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महिलाहरुले केही हदसम्म राजनीतिमा अधिकार प्राप्त गरेको भए पनि निर्णायक तहमा अझै पुग्न नसकेको बताए ।

उनले महिलाहरु अझै पनि नीति निर्माण तहमा पुग्न नसकेकोले महिलाहरुको विषय पुग्नु पर्ने ठाउँमा पुग्न नसकेको टिप्पणी गरे । उनले शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या यथावत रहने समेत बताए । निर्णायक तहमा महिला प्रतिनिधित्व बढाउन सकिए सम्पूर्ण समाज परिवर्तनमा एक कदम अगाडि बढ्ने मुख्यमन्त्री राउतको कथन थियो ।
पुरुष प्रभुत्व समाजमा महिलाहरुसंग विभिन्न प्रकारको विभेद कायम नै रहेकोले महिलाहरुलाई निर्णायक स्थानमा पु¥याउन सकिए यी विभेदको अन्त्य हुँदै जाने विश्वाससमेत उनले व्यक्त गरे । बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै यसको निकासी तत्काल रोक्नुपर्नेमा उनले जोड दिए । बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाए पनि मधेश प्रदेशमा बेरोकटोक निकासी भएको उनले बताए । ‘सरकारले नीति नियम बनाउने हो’, उनले भने, ‘कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन् । कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै दैनिक चुरे दोहन भइरहेको छ ।

चुरे दोहनमा प्रयोग गरिएको स्काइभेटर, टिपर नियन्त्रणमा लिएको छैन । दोहन गर्नेमाथि कारवाही गरेको छैन् ।’ यस्तो अवस्थामा जलवायु परिवर्तनको प्रभाव देखिनु स्वभाविक रहेको बताउँदै उनले चुरे दोहन, वन फँडानी, बालुवा गिट्टी उत्खनन् कार्य तत्काल रोक्नुपर्नेमा जोड दिए । त्यस्तै प्रदेशसभा सदस्य मञ्जु यादवले वैदेशिक रोजगारले समाजमा महिला हिंसा बढेको जिकिर गरिन् । उनले महिलाबाटै महिला पीडित रहेको टिप्पणीसमेत गरिन् ।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिइन् । साथसाथैकी अध्यक्ष प्रनिता कार्कीको सक्रियतामा भएको सो कार्यक्रमको सञ्चालन एवम् सहजीकरण पत्रकार गायत्री मिश्रले गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button