भदौ १७पछि नेपाली फिल्ममा नयाँ युग सुरु हुन्छ : सुदर्शन थापा

सुदर्शन थापा नेपालमा हिट फिल्महरु दिने निर्देशकको सूचिमा पर्छन् । मेरो एउटा साथी छ, प्रेमगीत, म यस्तो गीत गाउँछु लगायत चर्चित रोमान्टिक फिल्महरु निर्देशन गरेर अब्बल निर्देशकको छवि बनाएका थापा निर्देशित मेगा बजेटको मल्टिस्टारर फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौ १७बाट प्रदर्शनमा आउँदैछ । यो फिल्म प्रदर्शनमा आएपछि नेपाली सिनेमा नयाँ कोर्समा अघि बढ्ने थापाको दाबी छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादीत अंश :

सुगम पोखरेलले दुई दशकअघि नै गाएको चर्चित गीतको नाममा फिल्म बनेको छ । कत्तिको न्याय भएको छ ?

पक्कै पनि ‘सम्हालिन्छ कहिले मन’ एउटा ब्रान्ड हो । जसमा मानिसहरुको अलग्गै भावना जोडिएको छ । हिजो गीतका रुपमा यसले प्रशंसा पायो र सबैको जिब्रोमा झुन्डियो । अहिले फिल्मको ट्रेलर र यसमा समावेश गीतहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सिनेमा कस्तो होला भन्ने कौतुहलता धेरैमा रहेको पाएको छु । यस फिल्मलाई ठूलो क्यान्भासमा खिचिएको छ, देशकै ठूला स्टारहरु छन् । त्यसमाथि गायक सुगम पोखरेल आफैं हाम्रो फिल्मसँग जोडिनुभएकाले पनि मानिसहरुको अपेक्षा धेरै हुन गएको छ । उहाँहरुलाई भन्न चाहन्छु, त्यो ब्रान्ड अझै धेरैमाझ पुग्नेछ ।

यो फिल्मले कस्तो कथा बोकेको छ ?

यो त्रिकोणात्मक प्रेमकथामा आधारित रोमान्टिक फिल्म हो । आकाश श्रेष्ठ, पुजा शर्मा र सोनाम तोप्देन मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै, सरोज खनाल, धीरेन शाक्य, गौरी मल्लजस्ता दिग्गज कलाकारको पनि अभिनय छ । फिल्मलाई स्तरीय बनाउन हामीले मेकिङमा अति मेहिनत गरेका छौं । यसको ९५ प्रतिशत सुटिङ बेलायतमा गरिएको छ । सिनेमाघर छिरिसकेपछि कथा बुझ्नमा दर्शकले धेरै दिमाग र जोड लगाइराख्न पर्दैन, उहाँहरुले हाम्रो प्रस्तुति र मेकिङको मज्जा लिन सक्नुहुन्छ ।

पुरानो र नयाँ पुस्ताका एक से एक कलाकारहरुलाई पर्दामा उतार्दाको अनुभव कस्तो रह्यो ?

हामीले कलाकार छनोटसहित फिल्ममा सबै पक्षमा अत्यधिक मेहिनत गरेका छौं । फिल्मलाई राम्रो बनाउनका लागि सबैलाई राखेर पटक–पटक वर्कशप गरेका छौं । भारतका चर्चित कभर सिंगर सोनाम तोप्देनलाई ल्याएर मुख्य भूमिका राख्यौं । आकाश, पुजा अहिलेका स्टार कलाकार हुन् ।

सरोज खनाल, धिरेन शाक्य र गौरी मल्लको स्टारडम दशकौंदेखि कायम छ । यति धेरै स्टार हुँदा हुँदै हामी किन नयाँ कलाकार खोज्न भारत नै गयौं ? किनकी हाम्रो कथाले यस्तै कलाकार मागेको थियो । हामीले कुनै कम्प्रमाइज गर्न चाहेनौं । शतप्रतिशत मेहिनत गर्नुपर्छ भन्ने मलाई लागेको थियो । किनकी, कुनै हालतमा बलिउडका हिट फिल्मभन्दा हामी कम हुनु हुँदैन भन्नेमा स्पष्ट थियौं । अहिले ट्रेलर र गीतहरु रिलिज भएसँगै निकै उत्साहपूर्ण प्रतिक्रिया आएको छ । कतिपयले यसलाई हलिउड शैलिकै भनिरहनु भएको छ । यस्ता प्रतिक्रियाले हामी उत्साहित छौं ।

बेलायतमा गएर फिल्म खिच्नु कत्तिको चुनौतिपूर्ण थियो ?

म तपाईलाई प्रश्न सोध्छु – चुनौति हुँदा हुँदै मानिस किन हिमाल चढ्छ त ? किनकी उचाईमा पुग्नुको मज्जा उसलाई थाहा हुन्छ । त्यस्तै, हामीले पनि जोखिम मोलेर नयाँ उचाईमा पुग्ने प्रयास गरेका हांै । फिल्म राम्रो बन्दा नेपाली फिल्मको स्तर र बजारलाई एक कदममाथि उठाउन सकिन्छ भन्नेमा हामी विश्वस्त भएकाले हरेक चुनौति हाँसेरै पूरा गर्‍यौं । टिमलाई मानसिक रुपमा पनि त्यसरी नै तयार गरेको थिएँ । अहिले सार्वजनिक भएको ‘हराँए हराएँ’ बोलको गीतमा पुजा र आकाशको अभिनय हेर्नुभयो होला । त्यो गीत सुटिङ गर्दाको समय स्कटल्यान्डको तापक्रम माइनसमा थियो । जाडोले मुटु नै थर्थर काप्यों ।

त्यसमाथि ४०–५० किलोमिटरको रफ्तारमा हावा चल्थ्यों । त्यतिबेला पातलो पहिरन लगाएर पहाडमा रोमान्टिक सिन दिन कलाकारलाई कति गाह्रो भयो होला । तर, यो पर्दाबाहिरको मेरो व्यक्तिगत अनुभवको कुरा भयो । भिडियोमा त्यस्तो केही महसुस भएको देखिन्न किनकी उहाँहरु आफ्नो काम शतप्रतिशत दिनुभएको छ । ९५ प्रतिशत सुटिङ बेलायतमा गर्न, ६५ दिनसम्म बेलायतका महँगा शहरमा ५० हजार सदस्यलाई राखेर फिल्म खिच्न, दुबईका आलिसान भवनमा सुट गर्न, भारतबाट उत्कृष्टभन्दा उत्कृष्ट प्राविधिक बोलाएर काम गर्न, हरेक कुरा महँगै हुन आउँछ । तर हामीले ठूलो क्यान्भासमा केही गर्ने सोचेका थियौं । जो सफल भएको छ । म आफ्नो सम्पूर्ण टिमको मेहिनतबाट खुसी छु ।

लगानी र मेहिनत भव्य देखिन्छ, के नेपाल बजारले धान्न सक्छ ?

कोरोनाकालपछि हाम्रोमा रिलिज भएका अधिकांश फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका छैनन् । तर, यही समय हाम्रो बजारबाटै आरआरआर, पुष्पा, केजिएफलगायत दक्षिण भारतीय फिल्मले ठूलो रकम लिएर गएका छन्, कन्टेन्ट त हाम्रा फिल्मको पनि कमजोर होइन । तर हामी मेकिङ पक्षमा चुकेकाले दर्शक तान्न सकेनौं । अहिलेका मल्टिप्लेक्स हल पहिलेका सिंगल थियटरको दाँजोमा निकै स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले फिल्म मेकिङ गर्नुको विकल्प छैन ।

पहिले, मानिसले पिक्चरमात्रै हेर्थे, त्यो पनि ठिक–ठिकै आउँथ्योंं । अहिले पिक्चर क्वालिटी निकै हाई छ, साथै दर्शकले साउन्ड पनि फिल गर्न थालेका छन् । ठूलो घरमा, ठूलो मासले ठूलो पर्दामा सिनेमा हेर्ने हो । आजका दिनमा मल्टिप्लेक्समा ब्राड पिट, अमिर खान र अक्षयकुमारका फिल्मसँगै नेपाली फिल्म पनि लागिरहेको हुन्छ । टिकट सबैको लगभग ३ सय रुपैयाँ नै पर्ने हो । अब नेपाली फिल्म किन हेर्ने ? भन्ने प्रश्न त त्यहाँ आउँछ । त्यही प्रश्नलाई ध्यानमा राखेर हामीले यो फिल्म बनाएका छौं ।

यसमा मेकअपम्यान, प्राविधिकदेखि कलाकारसम्म सबैले अलग ढंगले काम गरेका छन् । नेपाली सिनेमा इतिहासको अहिलेसम्मकै उत्कृष्ट मेकिङ यस फिल्मको मुख्य विशेषता हो । त्यसैले मैले ठोकुवाका साथ भन्दै आएको छ, बलिउडका ए ग्रेडका फिल्मसँग हाम्रो फिल्मले प्रतिस्पर्धा गर्नसक्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button