‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको तेस्रो श्रृङखला यही चैत २३ गतेदेखि सुरु

जनकपुरधाम । ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८’ को तेस्रो श्रृङखला यही चैत २३ गतेदेखि सुरु हुने भएको छ । आयोजक मैथिली विकास कोषले गत आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराएको छ । मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले वि.सं.२०७३ सालमा जनकपुर साहित्य महोत्सव नामक महोत्सवको आयोजना पहिलो पटक गरिएको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

उनले भने,‘हामीले २०७३ सालदेखि नियमित रुपमा प्रत्येक वर्ष यस महोत्सवको आयोजना गर्ने निधो गरेका थियौं र २०७५ सालमा नियमितता पनि दियौं तर कोरोना र बन्दाबन्दीको कारण गत वर्ष भने हामीले गर्न सकेनौं।’ महोत्सवमा ३० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिँदै उनले प्रदेश अथवा संघीय कुनै सरकारको कुनै निकायसंग सहयोग भने नभएको जिकिर गरे । नेपाल र भारतका विभिन्न स्थानका स्रष्टाहरु सहभागी हुने सो महोत्सवको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा २५ गते समापन भने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने आयोजकले जनाएको छ ।

महोत्सव स्थल जनकपुरधामको जानकी मन्दिरको प्राङ्गण र जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षलाई बनाइएको छ । महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्नेछन् । मैथिली भाषाको नाटक जनकपुरधाम, पटना तथा दरभंगाको टोलीले मञ्चन गर्ने छ। त्यसैगरी, नेपाली भाषामा काठमाण्डुको नाट्य टोली तथा हिन्दीमा भारतको मणिपुरका टोलीले नाटक मञ्चन गर्ने जानकारी अध्यक्ष चौधरीले दिए । महोत्सवको मुख्य आकर्षणमा साँस्कृतिक झाँकी सहितको शोभा यात्रा, कथा र कविता गोक्ष्ठी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, पारम्परिक गीत ,सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा मिथिला नाट्यकला परिषदका अध्यक्ष प्रमेश झा,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण,साहित्यकार हिमाँशु चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गायत्री मिश्र,महासंघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलन पत्रकार श्यामसुन्दर शशिको सक्रियतामा भएको थियो । यता मैथिली विकास कोषले प्रदान गर्दै आएको डा. धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक रामावतार यादव र सलहेश साँस्कृतिक पुरस्कार २०७७ डा. आभाष लाभलाई प्रदान गरिने भएको छ । यसैगरी, डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश साँस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिने जानकारी कोषका अध्यक्ष चौधरीले दिए । दुबै पुरस्कारमा ५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गर्ने रहेको उनले जानकारी दिए । चारै जनालाई २३ गते हुने महोत्सवको उद्घाटन सत्रमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button