सही निर्माण सामाग्री कसरी छनौट गर्ने ? यी हुन् उपयोगी टिप्स

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? यदि घर बनाउँदै हुनुहुन्छ भने निर्माण सामाग्रीको बारेमा धेरथोर ज्ञान हुनु जरुरी हुन्छ । जति राम्रो निर्माण सामाग्री छनौट गर्न सकियो, त्यति नै बलियो घर निर्माण हुन्छ। घर निर्माण गर्दा सिमेन्ट, गिट्टी-रोडा, बालुवा, ढुंगा, इँटा, काठ, कलर लगायत निर्माण सामाग्रीको छनौटमा चतुरता देखाउन सक्नुपर्छ । अन्यथा, तपाईं जीवनभर मिहिनेत गरेर कमाएको पैसाले निर्माण गरेको घर सोँचेजस्तो नबन्‍न सक्छ । भूकम्पप्रतिरोधी बलियो घर बनाउन पनि गुणस्तरीय निर्माण सामाग्रीको जरुरत पर्छ ।

जीवनमा घर पटक–पटक बनाउन सकिँदैन । एउटै घर बनाउन पनि ठूलो संघर्ष गर्नुपर्छ । किनभने, जग्गा किन्दै मोटो रकम खर्च भइसकेको हुन्छ, त्यसमाथि घर बनाउँदा बैंकबाट ऋण लिनुपर्ने अवस्था आइसक्छ । अब शहरी क्षेत्रमा सामान्य आम्दानीले घर बनाउन सम्भव छैन । एउटा घर बनाउन करोडौँ लगानी लाग्छ र त्यो पैसा जम्मा गर्न जिवनभर लाग्छ । जीवनभरको कमाई खन्याएर बनाएको घर राम्रो र बलियो होस भन्‍ने चाहाना सबैको हुने गर्छ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामाग्री छान्‍नुपर्छ ।

घर बनाउँदा मूख्यतः चाहिने डन्डी, सिमेन्ट, बालुवा, गिट्टी, ईट्टा, ढुंगा लयायत हुन् । त्यो बाहेक काठ, रङ, टायल, मार्बल, वाथरुमका सामानहरु, धारा बत्तीका लागि चाहिने सामानहरु धेरै चाहिन्छन् । यी सबै सामानको आफ्नै महत्व हुन्छ ।

फिनिसिङमा प्रयोग हुने पेन्ट, मार्बल, धारा बत्ती भन्दा पनि घरको संरचनामा प्रयोग हुने  सामाग्री छनौटमा बढी ध्यान दिनुपर्छ । किनभने, अरु सामान आफुलाई मन परेन भने तुरुन्तै परिवर्तन गर्न सकिन्छ । तर, घरको पिलर वा बिम, झ्याल–ढोका परिवर्तन गर्छु भनेर सम्भव हुँदैन ।

घरमा संरचना निर्माणमा मात्र होइन कि प्लम्बिङ र वायरिङका सामाग्री छनौट गर्दा पनि गुणस्तरमा ध्यान दिनु जरुरत छ । यदि वायरिङका सामाग्री गुणस्तरीय नभएमा चाँडै बिग्रिने वा सर्किट सट भएर आगालागीसम्मका घटनाहरु हुन सक्छन् । पानीको पाइप नराम्रो परेमा जाम भएर दिक्क लगाउने हुन सक्छ । त्यसैले घर बनाउने सामाग्री छनौट गर्दा धेरै विचार पुर्याउनु जरुरत छ । आज हामी घरको फिनिसिङमा प्रयोग गरिने भन्दा पनि संरचना निर्माणमा प्रयोग हुने सामाग्री कसरी गुणस्तरीय छनोट गर्ने भनेर चर्चा गर्न गइरहेका छौं ।

सिमेन्ट

घर निर्माणको प्रमुख सामाग्रीमा सिमेन्ट पर्छ । बालुवा, गिट्टी र रडलाई बलिसोसँग जोडेर राख्‍ने काम सिमेन्टको हो । अहिले बजारमा दर्जनौं ब्रान्डका सिमेन्ट पाइन्छन् ।  सबै सिमेन्ट गुणस्तरीय नहुन सक्छन् । हामीले कुन ब्रान्डको सिमेन्ट राम्रो छ भनेर विज्ञसँग जानकारी लिनुपर्ने हुन्छ । किनभने, आँखाले हेरेर सिमेन्टको गुणस्तर पहिचान नहुन सक्छ ।

नेपालमा गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह (एनएस) नलिई सिमेन्ट बिक्री वितरण गर्न पाइँदैन । त्यसैले हामीले सिमेन्ट किन्दा बोरामा भएको गुणस्तर चिन्ह हेर्न भुल्नु हुँदैन । सरकारले बेलाबेला सबै सिमेन्टको प्राविधिक जाँच गरि एनएस दिने गर्छ ।

एनएस् चिन्ह प्राप्त जुनसुकै सिमेन्ट राम्रो सिमेन्ट हो भनेर ढुक्क भए हुन्छ । हामीले सिमेन्ट किन्दा प्याकेजिङ गरेको अवधि पनि हेर्न भुल्नु हुँदैन । फ्याक्ट्रीबाट उत्पादन भएको सिमेन्ट २ महिनाभित्र प्रयोग गरिसक्नुपर्छ । सिमेन्टमा डल्ला परेको छ कि छैन्, पसलमा कस्तो ठाउँमा भण्डारण गरिएको छ भनेर पनि नियाल्नुपर्छ ।

बालुवा

बालुवा निर्माणमा चाहिने अर्को महत्वपूर्ण सामाग्री हो । कंक्रिट, वाल जोडाई र प्लास्टरको काममा सिमेन्टमा मिसाउन बालुवा अनिवार्य चाहिन्छ । सिमेन्टमा कति अनुपातमा बालुवा राख्‍ने भन्‍ने कुराले कंक्रिट घोल र मसलाको स्ट्रेन्थ तय गर्छ । बलियो मसला चाहिएको बेला थोरै बालुवा राख्नुपर्ने हुन्छ ।

बालुवा कस्तो राम्रो भन्‍ने कुरा निर्धारण गर्न गाह्रो छ । साधारण शब्दमा भन्‍नुपर्दा माटो नभएको बालुवा राम्रो हो । माटो नमिसिएको बालुवा, डबल वास बालुवा किन्‍नुपर्छ । हामीले एक मुठ्ठी बालुवा हातमा लिएर कसेर मुठ्ठी च्यापेर बालुवा छोड्यो भने गुणस्तर पहिचान गर्न सक्छौं । यदि मुठ्ठि फुकाउँदा हातमा माटो लाग्यो वा बालुवाको डल्ला बन्यो भने त्यसमा माटो मिसिएको छ भन्‍ने निष्कर्षमा पुग्‍नुपर्छ । तर, मुठ्ठि च्यापेर फुकाउँदा बालुवा पनि फरर फुक्यो भने त्समा माटो मिसिकएको छैन भन्‍ने हुन्छ ।

बालुवामा टल्किने पदार्थ देखियो भने पनि प्रयोग गर्नु हुँदैन । बालुवामा सिलिका (सिसा) एकदम थोरै भएको प्रयोग गर्नुपर्छ । सिलिका धेरै भएको बालुवा  र सिमेन्टको मिश्रण गुणस्तरीय हुँदैन र कंक्रिट घोला वा मसला कमजोर बनाउँछ । सिलिका धेरै भएको बालुवा बढि टल्किने हुन्छ । खोलाको बालुवामा माटो कम हुन्छ तर राम्रोसँग धोएको भए खानिको बालुवा पनि राम्रो हुन्छ ।

गिट्टी

राम्रो गिट्टीका केही विशेषताहरु हुन्छन्, ती विशेषताहरु पहिचान गरेर रोडा किन्‍न सकेमा राम्रो गुणस्तरको पर्छन । रोडामा धर्सा भएको, लेप लगाइएको, धुला कणहरु भएको र अन्य हानिकारक पदार्थको मिश्रण हुन हुनु हुँदैन । घरको स्ट्रक्चरल पार्टस् (घरको भार बाहन गर्ने भाग), जस्तो कि फाउन्डेसन, पिलर, बीम र स्ल्याबमा प्रयोग गर्ने रोडा जहिले २५ एमएम भन्दा सानो साइजको प्रयोग गर्नुपर्छ । कसैकसैले ठुलो रोडा हाल्यो भने पो घर  बलियो हुन्छ भनेर ठुल्ठुलो रोडा प्रयोग गर्ने गरेको पनि देखिन्छ, जुन गलत हो ।

अझ कसैले त सानो रोडा हाल्दा कंक्रिटको मात्रा बढी जान्छ, सिमेन्ट बढी लाग्छ भनेर ठूलो गिट्टी–रोडा हाल्ने गरेको पाइन्छ । तर, वास्तवमा ठूलो रोडा राख्दा पिलर, बीममा डन्डीले कंक्रिट भित्रसम्म छिर्न दिदैन र पिलर, बीम खोक्रो बन्‍न जान्छ । जुन घरको लागि एकदमै खतरनाक संरचना बन्‍न जान्छ । सानो गिट्टी प्रयोग गर्दा डन्डीको बिचको ग्यापबाट सजिलै तल–भित्रसम्म कंक्रिट पुगेर घर बलियो बन्छ ।

रोडा एकैनासको सबै बराबर साइजको नभइ कुनै अलिकति ठूलो कुनै अलिकति सानो गरी मिलाएर राखेको राम्रो हुन्छ । माथि भनेजस्तै २५ डाउन गिटीमा ५ प्रतिशत जति गिट्टी २५ एमएम भन्दा अलिक ठूलो भएर पनि फरक पर्दैन । र, बाँकी गिट्टी कुनै १० एमएम, कुनै १५ वा २० एमएमको हुन सक्छ, केही गिट्टी लाम्चो खालको पनि हुनसक्छ, केही गिट्टी ५ एमएमको पनि हुनसक्छ । यसरी ५ एमएमसम्मको वा लाम्चो खालको रोडा–गिट्टीको मात्रा धेरै हुनु हुँदैन । हेर्दाखेरी सबै साइजको मिलेको देखिनुपर्छ । यस्तोलाई अंग्रेजीमा ‘वेल ग्रेडेड एग्रिगेट’ भनिन्छ ।

खोलाको रेडिमेट गिट्टी सकभर प्रयोग गर्नु हुँदैन । तर, खोलाको ढुंगा कुटेर बनाइएको गिट्टी भने राम्रो हुन्छन् । प्रायः खोलाको गिट्टी गोलो हुन्छ तर घरमा प्रयोग गर्नका लागि चुच्चो परेको गिट्टी राम्रो मानिछ । त्यसैले जहिले पनि क्रसरबाट फुटालेको वा चुच्चो परेको गिट्टी किनेर प्रयोग गर्नुपर्ने हुन्छ ।

काठ 

काठको प्रयोग झ्याल र ढोकामा हुन्छ । काठ महँगो पनि हुने भएकाले झ्यालमा कमैले मात्र काठको प्रयोग गर्छन । तर, झ्याल ढोकाको चौकोस काठकै बनाइन्छ । पल्ला चाँही रेडिमेट युपिभिसी, आल्मुनियमको प्रयोग गर्ने चलन बढ्दो छ । काठको प्रयोग पारकेटमा पनि गरिन्छ । सिसौको काठ फ्लोरिङमा पनि प्रयोग हुन्छ । रेलिङ बनाउन, किचेन र दराज पनि काठमा विभिन्‍न अवतार प्रयोग हुन्छ ।

चौकोस बनाउन सालको काठ बलियो मानिन्छ । तर, सामान्यतया नेपाली सालको काठ सिसोनिङ नगरेको हुनाले राम्रो सँग सुक्न नपाएको हुँदा पछि पसाँगिने समस्या आउन सक्छ । झ्यालको पल्ला बनाउन बजेट अनुसार सल्लो र सिसौ प्रयोग गर्न चलन छ ।

जुनसुकै काठ प्रयोग गरे पनि सकेसम्म सिसनिङ गरेको वा राम्रोसँग सुकेको काठमात्र प्रयोग गर्नुपर्छ  । र, काठमा किरा नलागेको, धमिराले नखाएको र नकुइएको हुनुपर्छ । बाँङ्गो अथवा गाँठो परेको काठमा फुट्ने समस्या आउन सक्छ । किचेन र दराज बनाउन प्लाई प्रयोग हुन्छ । सकेसम्म राम्रो गुणस्तरको वाटर प्रुफ प्लाई प्रयोग गर्दा लामो समयसम्म टिक्छ ।

इँटा

इँटा पनि अर्को महत्वपूर्ण निर्माण सामाग्री हो । घरमा वाल लगाउन, कम्पाउन्ड लगाउन, पार्टेसन गर्नका लागि इँटा प्रयोग गरिन्छ । अचेल बन्ने आरसीसी घरमा घरको भार बहन गर्ने भनेको पिलर र बिमले हो ।
इँटाको काम भनेको पार्टेसन गर्ने र कोठा छु्ट्याउने मात्र हो । त्यसैले इँटा एकदम बलियो राख्छु, मोटो राख्छु भनेर सोँच्‍नु पर्दैन । त्यसो भन्दै गर्दा कमजोर फुटी हाल्ने खालको इँटा प्रयोग गर्ने पनि होइन ।
सामान्यतया तराईका इँटा बलियो हुन्छ । तर, काठमाडौंसम्म ल्याइपुर्याउँदा अलिकति महँगो हुन्छ ।

भक्तपुर र धादिङको इँटा पनि बलियो नै हुन्छ र इँटाले घरको भार बहन गर्नु नपर्ने हुनाले भक्तपुर र धादिङको इँटा प्रयोग गर्न सकिन्छ । सजिलै फुट्ने टुक्रिने खालको इँटा प्रयोग गर्नु हुँदैन । इन्जिनियरको मद्दतले साइटमा इँटाको स्ट्रेन्थ चेक गर्न पनि सकिन्छ ।

इँटाको साइडमा चाबी बनाएको खालको रोज्‍नुपर्छ । यस्तो चाबीले इँटामा सिमेन्टको मसला राखेर सेटिङ गरिसकेपछि इँटा र मसलाको जोइन्ट बलियो पार्न मद्दत गर्छ  । मेसिनले काटेको चारतिरै सम्म भएको इँटा चाहिँ प्रयोग गरेको राम्रो हुन्छ । पछिल्लो समय माटोको रातो इँटाको सट्टामा विभिन्‍न अल्टरनेटिभ इँटाहरु एएसी ब्लक लगायत बजारमा आइसकेका छन् ।

रड/डण्डी

डन्डीको प्रयोग हुने लचकताको लागि हो । भुकम्प प्रतिरोधि घर बनाउनको लागि सहि मात्रामा सहि ठाउँमा डन्डी हाल्न अति आवश्यक हुन्छ । राम्रो डन्डी छान्‍ने तरिका ल्याबमा लगेर डन्डी परिक्षण गर्नु नै हो । तर, साइटमा पनि डन्डीको गुणस्तर केही हदसम्म परिक्षण गर्न सकिन्छ ।

डन्डीलाइ १८० डिग्रीसम्म बङ्गाउदा पनि बाङ्गिएको ठाउँमा डन्डीमा कुनै क्रयाक आउनु हुदैन । यदि क्रयाक देखियो र डन्डी फुट्यो भने त्यो कमसल भनेर बुझ्नुपर्छ । सरकारले पनि डन्डीमा गुणस्तर मापन गरेर एनएस् चिन्ह दिएको हुन्छ, हामीले डन्डी किन्दा एनएस चिन्ह हेरेर मात्र किन्नुपर्छ ।

बजारमा कुनै डन्डीले स्क्रयाप हाल्छ रे, यो नराम्रो हुन्छ भन्‍ने हल्लाको पछि लागेर महँगो डन्डी खरिद गर्ने गरेको पाइन्छ । तर यो कुरा पुरै सत्य होइन । डन्डी बनाउँदा केही मात्रामा स्क्रयाप हाल्न मिल्छ । फेर स्क्रयाप भन्दैमा जे भेट्यो त्यही पगालेर हाल्ने होइन ।

अन्तिममा उत्पादन भएको डन्डीको लचकता मापदण्ड अनुसार छ र भुकम्प प्रतिरोधी पनि छ भन्‍ने निश्‍चित गर्यो भने जुनसुकै डन्डी प्रयोग गर्दा पनि हुन्छ । सकिन्छ भने महँगो नै परेपनि आफ्नो छनौट अनुसारको हाल्नुस् । सकिदैन भने पनि निश्‍चिन्त भएर एनएस गुणस्तर भएको डन्डी प्रयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button