मनसुन सक्रिय भएसँगै निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज दाहालले जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङलगायत २६ वटा जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेको जानकारी दिँदै खोज तथा उद्धार र राहत कार्य निरन्तर जारी राखेको बताए । हालसम्म मुलुकभर २७ को मृत्यु, २६ बेपत्ता, १९ जना घाइते भएका छन् ।

हेलिकप्टरबाट २६८ जना र सुरक्षाकर्मीले चार सय जनाको उद्धार गरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरोपीडित एक हजार छ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै ४६२ घर तथा भवन पूर्ण रूपमा र ११० आंशिक रूपमा क्षति पुगेको छ । सम्भावित मनसुनजन्य जोखिम कायमै रहेकाले नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस वर्षको मनसुनजन्य विपत््बाट क्षति भएका निजी घर पुनर्निर्माणका लागि दुई करोड ८६ लाख रकम निकासा भई विपत्् पीडितलाई वितरणको प्रक्रियामा रहेको जानकारी प्रवक्ता दाहालले दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा फेरी सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ ।

बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध : दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ”, उहाँले भन्नुभयो, “ठूलो पहिरो खसेकाले हटाउन चार/पाँच घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ ।

” पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ । “बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुनसकेको छैन”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।

पहिरोले लागेर दुई घाइते : यसैबीच तनहुँको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन् ।

दुवै जना बेँसीशहर निवासी हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button