बाँदरको भेषमा युवा संघको प्रदर्शन

५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् ।

बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ ।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

यसैगरी प्रचण्डले आजै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए । मंगलबार बिहानै सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि नेता नेपालसँग भेट गरेका थिए ।

एमाले केन्द्रीय कमिटी बैठकमा नौ एजेण्डा प्रस्तुत

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत एजेण्डा प्रस्तुत गरेका छन् ।

ओली सरकारबाट हटेपछि सोमबारदेखि केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

देउवालाई विश्वासको मत दिने एमाले सांसद छलफलमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग नेता नेपालले छलफल गरेका हुन् ।

३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए । तीमध्ये राजधानीमा उपलब्ध सांसदहरुसँग उनले छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो ।

आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’

यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा नेताहरुले प्रधानमन्त्री देउवाले मिलेर काम गरौं भनेपछि विश्वासको मत दिएको बताएका थिए ।

अब सरकारमा जाने कि नजाने भन्नेमा भने नेताहरुको फरक–फरक मत आएको छ । केहीले सरकारमा जान नहुने मत राखेका छन् भने कतिपयले सरकारलाई समर्थन गरेपछि जस अपजस बोल्नुपर्ने भएकाले सरकारमा जानुपर्ने मत राखेका छन् ।

तर सत्तारुढ कांग्रेस र प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएकाले यसबारे कुनै निर्णय नभएको एक नेताले बताए ।

कार्यकारिणी समितिको बैठकले केही मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठन लगायतका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ ।

साथै सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्न, आर्थिक राहत प्याजेक ल्याउन तथा नेपाल भारत सीमामा सहज आवतजावतको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button