फेरि बढ्दैछ कोरोना संक्रमण, नयाँ भेरियन्टको भाइरस फैलिएको आशंका

कोभिडको महामारीलाई भुल्दै ‘न्यू नर्मल’मा फर्किन थालेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतराको घण्टी बजाएको छ ।

मन्त्रालयको अनुसार सोमबार ४ हजार ४७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड-१९ को संक्रमण भेटिएको छ । गएको २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

महामारीको पछिल्लो अवस्था र तथ्यलाई नियालिरहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम देखिएको बताउँछन् ।

डाक्टर बास्तोलाकाअनुसार पछिल्लो समय प्रत्येक महिना २८/३० जना बिरामी टेकु अस्पतालमा भर्ना भएका छन् । यसरी संक्रमित भेटिइरहेको बेलामा महामारीलाई नजरअन्दाज गरेकाले अहिले संक्रमण बढेको उनको तर्क छ ।

‘संक्रमण नभएको अवस्थामा पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्थ्यो’ डाक्टर बास्तोला थप्छन्, ‘तर संक्रमित भेटिइरहेको बेलामा पनि हामी पार्टी, भोज, नारा, जुलुस र सभा सम्मेलन गर्न थाल्यौं, गल्ती यहीँ भयो ।’

टेकु अस्पतालमा सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

लक्षणसहित परीक्षण गराउने आउने शंकास्पद संक्रमितको संख्या पछिल्लो १० दिनमा बढेको छ । डाक्टर बास्तोला पछिल्लो समय आफूले भोगेको एउटा घटनाले नयाँ आशंका जन्माएको बताउँछन् ।

उनकाअनुसार फागुन ७ गते एउटा होटलमा जमघटमा रहेका व्यक्ति एक हप्तापछि ज्वरो खोकी र सास फेर्न गाह्रो भएको भन्दै टेकु अस्पतालमा भर्ना भए । कोभिड-१९ को परीक्षण नतिजा पोजेटिभ देखायो भने एक्स-रे रिपोर्टमा निमोनिया ।

५ दिनको उपचारपछि उनी घर फर्किए । तर, उनी सहभागी जमघटमा भएका ४० जनामा पीसीआर गर्दा १९ जनामा संक्रमण देखियो, जसमध्ये ७ जना त अस्पताल भर्ना भएको डाक्टर बास्तोला बताउँछन् ।

‘५ घण्टाको एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन’ डाक्टर बास्तोला भन्छन्, ‘नयाँ भेरियन्टको भाइरस फैलिएको हो कि भन्ने आशंका छ ।’

टेकु अस्पतालमाझैँ बलम्बुस्थित एपीएफ अस्पतामा पनि संक्रमित बढेको अस्पतालका चिकित्सक डाक्टर प्रविण नेपाल बताउँछन् ।

उनका अनुसार  १० दिनअघि अस्पतालमा सरदर दैनिक १ जना बिरामी भर्ना हुन्थे । एक सातायता त्यो सङ्ख्या बढेर सरदर पाँच पुगेको छ । लक्षणसहित पीसीआर परीक्षण गर्न आउनेको संख्या पनि बढेको छ । अस्पतालमा २ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भरहेको छ भने १६ जना संक्रमित वार्डमा छन् ।

‘लामो समयसम्म अस्पतालमा दुई/तीन जना मात्र बिरामी थिए, तर अहिले बिरामी थपिने क्रम छिटोछिटो भइरहेको छ’ डाक्टर नेपाल भन्छन्, ‘यसले हामीले सचेत रहन र फेरि महामारीसँग लड्न तयार हुनु भन्ने सन्देश दिएको छ ।’

दुई साताअघिको तुलनामा अहिले संक्रमितको सङख्या बढेको पाटन अस्पतालका कोभिड संयोजक डाक्टर बिमल पाण्डे बताउँछन् ।

उनका अनुसार पछिल्लो केही समय दैनिक ५ देखि ७ जना बिरामी भर्ना हुन्थे भने अहिले बढेर १२/१५ सम्म पुगेको छ । हाल अस्पतालमा ३० जना संक्रमितले उपचार गराइरहेका छन् ।  अस्पतालमा उपलब्ध १८ बेडको आईसीयू खाली नभएको उनले बताए ।

‘अब पनि सतर्क नहुने र जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने हो भने थप क्षति हुनसक्छ’ डाक्टर पाण्डेले भने ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि पछिल्लो साता संक्रमित बढेको कोभिड संयोजक डाक्टर सन्तकुमार दास बताउँछन् ।

उनका अनुसार पछिल्लो समय औसतमा १०० नमुना परीक्षण गर्दा ३ देखि ५ जना संक्रमित भेटिन्थे भने सोमबार ७८ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

‘संक्रमणदर १८ प्रतिशत देखिनु राम्रो लक्षण होइन, अब सचेत हुन जरुरी छ’ डाक्टर दास भन्छन्, ‘अन्य देशमा नयाँ भेरियन्टको कुरा छ, हाम्रोमा कुन भेरियन्ट भन्ने थाहा छैन, जे भएपनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाड्नुहुन्न ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button