प्रधान न्यायाधीशसँग चार न्यायाधीश छलफलमा

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्नुअघि प्रधान न्यायाधीशसँग चार जना न्यायाधीश छलफलमा जुटेका छन् ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई प्रधान न्यायाधीशको चेम्बरमा छलफल गरिरहेका छन् ।

छलफलपछि संवैधानिक इजलास बस्ने बताइएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । छलफलपछि सोमबार फैसला आउने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध

गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटको विषयलाई लिएर बैठक अवरुद्ध गरेको हो । 

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रदेश सरकारले गैरकानुनी रूपमा कार्यकर्ता पोस्नका लागि करोडौँ रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले यथार्थ बाहिर नल्याउँदासम्म बैठक चल्न नदिने उडान राख्दै आएको छ । एमालेले आइबार पनि संसद् बैठक अवरुद्ध गरेको थियो ।

एमालेका सांसद रामशरण बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताएका छन् ।

उनले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे ।

सरकारले बहुवर्षीय ठेक्का लगाएका योजना हटाएर कार्यकर्ता रिझाउन रकमान्तर गर्दै बजेट बाँडेको भन्दै एमालेले त्यसको फेहरिस्त प्रस्तुत नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ ।

७० हजार मेट्रिकटन चैते धान उत्पादन

बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिक टनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए ।

गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिक टन ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढोत्तरी भएको छ । 

हरियो तरकारी महँगो

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण तरकारी खेतीमा क्षति भएपछि कलैया बजारलगायत जिल्लाभरि नै हरियो तरकारीको मूल्य महँगो भएको छ ।

कलैया बजारमा हाल हरियो तरकारी झिगुनी प्रतिकिलो रु १००, बोडी रु १००, रामतोरी रु ७०, करेला रु ६०, घिउरा रु ६० र परवल रु ८० प्रतिकिलो बिक्रीवितरण भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

हरियो तरकारी १५ दिन पहिला कलैया बजारमा झिगुनी रु ६०, वोडी रु ६०, रामतोरी रु ३०, करेला रु ३५, घिउरा रु २५ र परवल रु ६० प्रतिकिलो बिक्री भइरहेको थियो ज्ञानकेन्द्रका प्राविधिक सहायक गेनालाल मण्डलले भने ।


गत वर्ष कृषकले वर्ष झिगुनी, रामतोरी, घिउरा, करेला, आदि गरी पाँच हजार ४५० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेकामा वर्षाका कारण खेतमा नै गलेर उत्पादनमा निकै गिरावट भएको  ज्ञानकेन्द्रका प्रमुख यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button