प्रचण्ड र माधव नेपाल पुनःस्थापना भए प्रधानमन्त्री खोज्न हल बाँधेर हिँड्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वास्तविक राजनीतिक पार्टी भनेको आफूले नेतृत्व गरेको नेकपामात्रै भएको भएको दावी गरेका छन् ।

आफू निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । 

‘पार्टी भन्न लायक पार्टी नै हाम्रो पार्टी हो । अढाई महिना अघिसम्म हाम्रो पार्टी पनि अरु पार्टीजस्तै थियो ।

मारामार, अहिले अर्को पार्टीको कुरा सुन्दै हुनुहुन्छ होला के खोल्दै हुनुहुन्छ रे’, ओलीले प्रचण्ड माधवलाई लक्षित गर्दै भने, ‘२५ प्रतिशत हैसियत छैन । ५० प्रतिशत चाहियो रे । उधारो हुँदैन फेरि नगदा नगदी ।’ उनले आफ्नो पार्टी यस्तो रोगबाट मुक्त रहेको पनि बताए । 

उनले संसद पुनःस्थापना हुन नसक्ने भन्दै सूर्य चिन्ह पनि आफ्नै नेतृत्वको नेकपाले पाउने दावी पनि गरे ।  ‘अदालतलाई राम्ररी थाहा छ । पुनःस्थापना भयो भने के हुन्छ ?’ कथमंकदाचित पुनःस्थापना भयो भने के हुन्छ भन्दा प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ’ ओलीको भनाइ छ । 

प्रचण्ड र नेपालको प्रधानमन्त्री हुने कुनै चान्स नरहेको पनि बताए । ‘यदि उहाँहरुले जित्नुभयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नुहुन्छ, त्यसका लागि पनि मकहाँ आउनुहुन्छ’, ओलीले संसद पुनःस्थापना भएपनि प्रधानमन्त्री आफै हुने संकेत गरे ।

नेकपा अहिले एकढिक्का भएको भन्दै कुनै प्रकारको समस्या नभएको र बाटो विराउनेलाई फर्कन आग्रह गरे । 

‘बिचरा मलाई प्रचण्डजीको माया लाग्छ । के खान गएको कहाँ डुबेर मर्यो भनेजस्तो भएको छ…’ आलीको भनाइ छ । उनले केपी ओली पराजित मानसिकतामा गइसक्यो, डिफेन्सिभ भइसक्यो भनेर आएका समाचारहरुमा सत्यता नभएको टिप्पणी गरे ।

उनले आफू गोलघरमा बस्दा पनि यसैगरी बोल्ने र यस्तै आत्मविश्वास भएको र अहिले पनि उस्तै रहेको बताए । ‘उतारचढावसँग, छालसँग डराएर समुन्द्रमा पस्न सकिँदैन ।

हामी छालहरू पार गरेर अगाडि बढ्छौँ । जस्तोसुकै परिस्थितिको सामना गर्छौँ’, ओलीको दावी छ ।

ओलीले प्रचण्ड–माधव पक्षलाई झिँगा र आफूलाई मौरीसँग तुलना गर्दै युवाहरुले झिँगा र मौरी छुट्याएकोमा आफूलाई खुसी लागेको बताए । 
‘मौरीले मह जम्मा गर्छ, घार बनाउँछ । आफू पनि खान्छ अरुलाई पनि वितरण गर्छ । झिँगाका पछाडि लाग्यो भने फोहोरको डुंगुरमा पुग्छ । त्यहाँ पुगेपछि आफू पनि रोगी बन्छ र अरुलाई पनि बिरामी पार्छ’, ओलीको भनाइ थियो ।   

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button