‘पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता हातमा लिन भारतले दूत पठाएर आग्रह गर्नुपर्छ’

१२ माघ, काठमाडौं । नेपालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरणको लागि दबाब दिन उबेला भारतले करण सिंहलाई दूत पठाए जस्तै अब शाहलाई सत्ताहातमा लिन पुन: दूत पठाएर भारतले आग्रह गर्नु पर्ने आवाज भारतमा उठेको छ। भारतीय पत्रिका ‘दि टेलिग्राफ’मा एक लेख लेख्दै भारतीय सरकारका मन्त्रीपरिषदका पूर्व सचिव एस रमेशले यस्तो सन्देश प्रवाह गरेका हुन्।

रमेशले भनेका छन्, ‘करण सिंहलाई भारत सरकारले राजा ज्ञानेन्द्रलाई सत्ता हस्तान्तरणको लागि आग्रह गर्न विशेष दूत बनाएर नेपाल पठाएको थियो। हुनसक्छ, सिंह फेरी राजालाई सत्ता लिनको लागि आग्रह गर्न काठमाडौं जानुपर्ने बेला भयो कि?’ जानकारहरु यसलाई ‘स्टेट-स्पन्सर्ड’ लेख हुन सक्ने बताएका छन्। सामान्यतया यस्ता ‘स्टेट-स्पन्सर्ड'(सत्ता प्रायोजित) लेखहरु कुनै नीतिमा परिवर्तन गर्नु भन्दा अघि पत्रिकाहरुमा छपाउने गरिन्छ। त्यसमा आउने प्रतिक्रियाहरुको आधारमा आगामी कुटनीतिक रणनीति तय गर्ने विश्वव्यापी मान्यता हुन्छ।

त्यस्तै, यो व्यवस्था र संविधान नरुचाएको भारतीय संस्थापनले नेपालमा व्यवस्था विस्थापन नै चाहेको बुझ्न सकिन्छ। पहिले पनि भारतीय परराष्ट्र मन्त्री प्रणव मुखर्जीले गणतन्त्रको पक्षमा अभिव्यक्ति दिएका थिए। त्यस्तै अहिले पनि आफ्नो नीति परिवर्तन भएको बारे भारतले आफ्नो धारणा छिट्टै व्यक्त गर्न लागिएको बुझिएको छ। स्रोतका अनुसार भारत सरकारका केन्द्रिय गृह मन्त्री एवं भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह आगामी दिनमा नेपाल भ्रमण गर्न सक्ने बताइएको छ। र, उक्त भ्रमणको बेला पूर्वराजालाई पनि भेट गरेर भारतले आफ्नो स्पष्ट सन्देश दिने बताइन्छ। तर कहिले र कसरी भन्ने कुरा भने अझै खुल्न सकेको छैन।

रमेशले उक्त लेखमा अब नेपालमा भारतले कुनै पनि बामपन्थी कम्युनिष्टहरुलाई सहयोग गर्न नहुने बताएका छन्। रमेशले अहिले नेपालमा सिर्जित राजनीतिक अवस्था सन् २००५-२००६मा गरेको गल्तीलाई सच्याउने सुवर्ण अवसर भएको बताएका छन्। ‘नेपालका कम्युनिष्ट र चिनियाँहरुको निकटता भारतले ०५-०६मा गरेको गल्तीको परिणाम हो। र, अहिलेको अवसरमा कोर्ष करेक्सन अपरिहार्य भएको छ।’

रमेशले नेपाली जनताको राजसंस्था र हिन्दू राष्ट्रको इच्छालाई स्वीकार्दै १२ बुदें सहमतिलाई उल्टाउन भारत सरकारले भूमिका खेल्नु पर्ने सुझाव दिएका छन्। रमेशले अब नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्रको पुनस्थापनामा अघि बढे भारतले सघाउनु पर्ने पनि बताए। रमेशले अब भारत आफ्नो पूर्ववत नीतिमा फर्किनुको विकल्प नरहेको बताएका छन्। उनले राजा सहितको प्रजातन्त्रमा नै फर्किनु अब भारत र नेपाल दुवैको लागि उत्तम हुने बताए। उनि अझ अघि बढेर लेखेका छन्, ‘भारतले राजा सहितको प्रजातन्त्र र २०४७को संविधानको पुनस्थापनामा सहयोग गर्नु पर्छ।’

रमेशले भारतले ओलीको विकल्पमा अरु अविश्वसिला र कच्चा खेलाडीहरुलाई सहयोग गर्नु भन्दा पूर्व राजालाई नै सहयोग गर्दा हित हुने भनेका छन्। उनले अफगानिस्थानका राजा जाहिर शाह र कम्बोडियाका राजा नोरोदम सिहानुकले साम्राज्यवादी शक्तिहरु सँग लडेको उदाहरण दिदै उनले चीनलाई ‘कन्टेन’ गरेर राख्न राजसंस्थाले मात्र सक्ने बताए।

रमेशले नेपालमा अब कसलाई राजा बनाउने भन्ने कुरामा पनि भारतले अब आफ्नो धारणा बनाउनु पर्ने बताए। भारतले राजा ज्ञानेन्द्र नभए उनका नाती हृदयेन्द्र शाहलाई राजाको रुपमा स्वीकार गर्नु पर्ने बताएका छन्। उनले पूर्व युवराज पारस शाहबारे नेपाली जनमानसमा नराम्रो छबि रहेको र उनको स्वास्थ्य पनि खराब भएकोले उनका छोरा हृदयेन्द्रलाई राजा स्वीकार गरेर अघि बढ्नु पर्ने बताएको छ।

रमेशले नेपालमा राजसंस्था हुदा पहिले पनि कमजोर राजनीतिक शक्तिहरुले राजाको शरण खोज्ने गरेको बिर्सिन नहुने बताएका छन्। उनले नेपालका राजासँग चीनले अति नै निकटता कायम गरेको सम्झिनु पर्ने बताए। र, अहिलेको परिस्थितिमा चीन आफैँ भारत भन्दा अघि नै राजाको शरणमा जानसक्ने कुराको पनि ख्याल गर्नु पर्ने बताए।

पूर्व विदेश सचिव श्याम शरणले नेपालका कथित ‘हिन्दू सम्राट’हरुले भारत विरोधी गतिविधिलाई प्रश्रय दिएको आरोपको पनि रमेशले लेखमा खण्डन गरेका छन्। उनले अब इतिहास हेरेर भारतले दिग्भ्रमित हुन नहुने बताएका छन्। ‘इतिहासबाट प्रभावित नभई अहिलेको परिस्थिति हेरेर भारत चिनियाँ षड्यन्त्र बारे संवेदनशील हुनुपर्छ र अति नै सावधानीका साथ योजना बनाउनु पर्ने हुन्छ,’ उनले भने।

रमेशले भारतले राजनीतिक एवं आर्थिक रुपमा पनि आफूले आशिर्वाद दिएर गरिएको १२ बुदे समझदारीबाट लाभ लिन नसकेको बताएका छन्। उनले तत्कालिन नेपाली काँग्रेस र आतंककारी समूह माओवादी बीच आफ्नो अगुवाईमा सहमति गराएर राजालाई बेदखल गर्दा भारत नै कमजोर भएको बताए।

रमेशले १२ बुदे सहमतिको हुनुको पछाडी तत्कालिन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको मुख्य भूमिका रहेको बताएका छन्। कोइरालाले नै राजा ज्ञानेन्द्र प्रजातन्त्रको लागि खतरा भएको भनेर भारतलाई ‘कन्भिन्स’ गरेको उनको तर्क छ। उनि लेख्छन्, ‘१२ बुदे सहमति जसले तत्कालिन आतंककारी समूह नेकपा माओवादीलाई मुलधारको राजनीति र केहि पछि शक्तिमा लिएर आयो त्यसको मुख्य सुत्रधार स्व. गिरिजा प्रसाद कोइराला नै हुन्। उनले नै राजाले ‘कू’ गरेर प्रजातन्त्र र संवैधानिक राजसंस्थाको सहमति उल्लङ्घन गरेकोले राजा राख्न नसकिने कुरामा भारत सरकारलाई मनाएका थिए।’

रमेशले अहिले नेपाल-चीन सम्बन्ध सगरमाथाको घोषणा भएको नयाँ उचाई सम्म पुगेको भन्दै मजाक पनि गरेका छन्। तर त्यहि अवस्थामा नेपाल-भारत सम्बन्ध अस्थिर भएको बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण र त्यसपछि भारतले गरेको ‘अघोषित नाकावन्दी’ले भारतको इज्जत नेपालीको मन मुटुमा गिरेको बताए। उनले भने, ‘सन् १९८९को नाकाबन्दी सम्झाउने २०१५मा भारतले गरेको त्यो ‘ब्लन्डर’ नेपालीले अझै बिर्सिन सकेका छैनन्। त्यो नेपालीहरुको मनमुटुमा गडेको छ।’  नेपाल दीप बाट सभाए गरिएको

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button