निर्वाचन तयारीमा लाग्नुस् : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन तयारीमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

कम्युनिस्ट पार्टीको विवादले अन्योलमा परेको राजनीतिलाई छाडेर पार्टी बनाउनतिर लाग्नुपर्ने देउवाको भनाइ छ।

‘कम्युनिस्ट पार्टीको विवादलाई चासो नदिएर पार्टीलाई जनताको काममा सक्रिय बनाउनुपर्छ’, सभापति देउवाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा रत्ननगरमा आयोजित कार्यक्रममा भने।

देउवाले कम्युनिस्ट पार्टीभित्रको विवादको किनारा नलागेको भन्दै जनतालाई खुसी पारे मात्रै पार्टीले बहुमत ल्याउने बताए। ‘जनता मालिक हुन् देशका मालिक खुसी भए जिताइदिन्छन्, प्रधानमन्त्री बनाइदिन्छन्, रिसाए भने भोट नहालेर सजाय दिन्छन्’, उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न भनेको ठूलो शक्ति हो।

जनताको घरमा वर्षको तीन पल्ट जानुस्, जनताले भोट हाल्छन्। भाषणमा भोट हाल्दैनन्।’

उनले अड्डा अदालत, प्रहरी प्रशासनजस्ता विभिन्न स्थानमा पुगेर जनताको सुख–दुःखमा सहयोग गरेर मत जिते मात्रै भोट दिने बताए। अघिल्लो निर्वाचनको मितिले दुई वर्षभित्र जसरी पनि निर्वाचन हुने भन्दै उनले त्यसका लागि अहिले नै जनताको घरमा पुग्न निर्देशन दिए।

‘जनताले भोट नदिएर हामी हार्‍यौं, जनता मालिक हुन्, देशको’, उनले भने, ‘जनताको घरदैलोमा पुग्नुस्, दुःख–सुखमा साथ दिनुस्। जनताको काम गर्नुस्, तब जनताले भोट दिनेछन्।’

उनले माओवादीले समर्थन फिर्ता नलिएको र संसद्मा कम्युनिस्ट सरकारकै बहुमत रहेको उल्लेख गर्दै त्यसमा ध्यान नदिन आग्रह गरे।

‘माओवादीले समर्थन फिर्ता लिएको छैन, संयुक्त सरकार छ। पार्टी अलग बनाए पनि प्रचण्ड ओलीकै बहुमत छ’, उनले भने, ‘प्रचण्ड र ओलीजी र माधव नेपाल र ओलीजी कसरी अघि बढ्नुहुन्छ भन्ने झगडा छ, मधेसमा पनि झगडा छ। अर्काको घरको झगडाको कुरा गर्नुभन्दा  भोट ल्याउनतिर लाग्नुस्।’ 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button