देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।

उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका छन् ।

शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजालले बताएका छन् ।

उनले सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु शुभ भएको उल्लेख गर्दै नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने बताएका छन् ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अन्तर्गत प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने तयारी थालेका छन् ।

निर्वाचन आयोगमा जसपाको बहस : वकिलको बहिस्कार

जनता समाजवादी पार्टी (जसपा) को विवादबारे आज (आइतबार) देखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ ।

तर, अध्यादेशमार्फत नियुक्त भएका आयुक्तहरुले गर्ने सुनुवाइ केही कानून व्यवसायीले बहिस्कार गर्ने भएका छन् ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ ।

दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाइ गर्न लागेको हो ।

सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयोगमा उपस्थित भएर बहस गर्नुपर्ने छ ।

तर, केही वकिलहरूले आयोगमा अध्यादेशबाट नियुक्त भएका पदाधिकारीले गर्ने सुनुवाइ बहिस्कार गर्ने निर्णय गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र नेता राजेन्द्र श्रेष्ठले शुक्रबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा केही कानूनविद्हरुले यसबारे छलफल गरेका थिए ।

जसपा नेताहरुले आफ्नो पक्षमा आयोगमा बहस गरिदिन ती कानून व्यवसायीसँग आग्रह गरेका थिए ।

तर, एभरेष्ट होटलको छलफलमा सहभागी कानून व्यवसायीहरुले संसद र संविधानले नचिनेका निर्वाचन आयुक्तहरुले गर्ने सुनुवाइमा बहस नगर्ने जानकारी दिएको जसपाका एक नेताले रातोपाटीलाई बताए ।

त्यहाँ संविधानले र संसदले नचिनेका केही आयुक्तहरु भएकाले हामी बहस गर्न नजाने भयौं ।

संसदीय सुनुवाइ बिनाका शाही आयोगका जस्तै भए’ वकिलको भनाइ उधृत गर्दै जसपाका एक नेताले भने, ‘शाही आयोगका सदस्यहरुलाई पनि हामीले संविधानले नचिनेको भनेर बहिस्कार गरेका थियौं । निर्वाचन आयोगका केही पदाधिकारीलाई पनि संविधानले चिन्दैन ।’

निर्वाचन आयोगका पदाधिकारीहरु मध्ये रामप्रसाद भण्डारी, जानकी देवी तुलाधर र सगुन शमशेर जबरा ओली सरकारका पालामा संसदीय सुनुवाइबिनै अध्यादेशका आधारमा नियुक्त भएका हुन् ।

उनीहरुको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट अहिलेसम्म विचाराधीन छ ।

शुक्रबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म एभरेष्ट होटलमा भएको छलफलमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका साथै भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायतको उपस्थिति थियो । बरिष्ठ अधिवक्ता शम्भु थापा छलफलमा सहभागी नभए पनि उनले पनि निर्वाचन आयोगमा बहस गर्न नजाने बताएको जसपा स्रोतले जानकारी दियो ।    

आफूहरु बहसमा सहभागी नहुने बताएका कानूनविद्हरुले उपेन्द्र यादवको पक्षमा केन्द्रीय समिति र संसदीय दल दुवैतिर बहुमत देखिएकाले आधिकारिकता पाउने ठोकुवा गरेका थिए ।

संसद्लाई पूर्णकाल जोगाउन देउवालाई मत दिन्छौँ : माधव समूह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।

हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।

त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button