ठक्करै–ठक्कर खाएपछि एकै ठाउँमा उभिन बाध्य

काठमाडौं, भदौ १ । २०७२ असोजमा तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई त्यसबीचमा विभिन्न दल परिवर्तन गर्दै करिब ७ वर्ष हन्डर र ठक्करपछि माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न तयार भएका छन्।

त्यसबीचमा माओवादीबाट परिवर्तन सम्भव नभएको र अध्यक्ष पुष्पकमल दाहाल भ्रष्टीकरणको बाटोमा लागेको आरोपसहित पार्टी परित्याग गरेका भट्टराईले कम्युनिस्टबाट परिवर्तन सम्भव नभएको बताउँदै आएका थिए। केही समयअघि जनता समाजवादी पार्टीको कारबाहीमा परेका उनलाई पछिल्लो समय निकटस्थ भनिएकाहरूले नै साथ छाड्न थालेका थिए। जसपाबाट निकालिएपछि राजनीतिक रूपमा कमजोर बन्दै गएका उनी अन्ततः आफैंले काम नलाग्ने भनेर छाडेको पुरानै पार्टीको चुनाव चिह्न लिएर निर्वाचन लड्न तयार भएका हुन्।

दाहालका नेकपाकालीन सहकर्मी तथा नेकपा एमालेमै हुँदा पनि माओवादी र दाहालका शुभेच्छुक वामदेव गौतम पनि माओवादी केन्द्रकै निर्वाचन चिह्न लिएर चुनाव लड्न तयार भएका छन्। सर्वोच्च अदालतको फैसलापछि नेकपा पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्र बनेपछि वामपन्थी दलहरूका बीचमा पुनः एकता गराउने भन्दै राष्ट्रिय एकता अभियान सुरु गरेका गौतम अन्ततः निर्वाचनका लागि माओवादी केन्द्रको शरणमा पुगेका हुन्।

उमेर हदका कारण पूर्वपार्टी नेकपा एमालेमा भूमिका नपाउने भएपछि राष्ट्रिय एकता अभियान सुरु गरेका गौतमले त्यसबाट पार लाग्ने नदेखेपछि निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णयमा पुगेका हुन्। उनले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्ने घोषणासँगै मंगलबार निर्वाचन आयोगमा आफू निर्वाचनमा जित सुनिश्चित गर्नकै लागि माओवादीको चुनाव चिह्न रोजेको बताए। उनको यो भनाइले पनि एकता अभियानबाट निर्वाचनमा सफलता पाउन सम्भव नभएपछि उनी घुम्दै फिर्दै नेकपाकालीन अध्यक्ष दाहालको ढोका ढकढकाउन पुगेको देखिन्छ।

अर्कातर्फ युद्धकालीन सहकर्मीले साथ छाडेपछि एक्लिएका र सर्वोच्च अदालतको निर्णयले तत्कालीन नेकपा विघटन गरिदिएसँगै पार्टी एकीकरणबाट जोडिएका नेता–कार्यकर्ताको साथ पनि छुटेपछि थप एक्लिएका दाहाललाई पनि भट्टराई र गौतमको साथले चुनावसम्मकै लागि भए पनि केही राहत दिएको छ। नागरिक दैनिक दैनिकमा खबर छ ।

दाहालले लिएको राजनीतिक दिशाप्रति असहमति जनाउँदै भट्टराईसँगै मोहन वैद्य, रामबहादुर थापा, सिपी गजुरेल, नेत्रविक्रम चन्दलगायतको ठूलो नेता–कार्यकर्ताको समूहले साथ छाडेपछि एक्लिँदै गएका दाहालका लागि युद्धकालीन सहकर्मी भट्टराई र नेकपाकालीन सहकर्मी गौतमको साथले राहत दिएको हो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button