जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर पार्टी एकता गर्छु : वामदेव गौतम

१३ माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताउनुभएको छ ।

पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ‘ उहाँले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताउनुभयो ।

नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । एकता अभियानका संयोजकमा गौतम, सहसयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहनुभएको छ ।

एकता अभियानसँगै नेता गौतमले लेख्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१आँै शताब्दीको कम्युनिष्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ । उहाँले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको स्पष्ट पार्नुभयो । उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताउनुभयो । दुवै अध्यक्ष सहमत भए मात्र पार्टी फुट्ने उहाँको भनाइ छ ।

उहाँले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताउनुभयो । ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन’, उहाँले भन्नुभयो, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’ उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताउनुभयो । ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्’, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button