कोरोना खोप : चमत्कारको आशमा छु ;स्वास्थ्यमन्त्री

२८ पुष, काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन सुरु भएको समाचार सम्प्रेषण भइरहेको समयमा एकाएक स्वास्थ्य तथा जनसङख्या मन्त्री  हृदयश त्रिपाठीले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरे ।

अन्य देशमा झै नेपालमा पनि खोपबारे खुशीको खबर विकास भएको आँकलन गर्दै अधिकांश सञ्चार माध्यम स्वास्थ्य मन्त्रालय पुगेका थिए । तर सबैको सोच विपरित स्वास्थ्यमन्त्री त्रिपाठीले पूर्वमन्त्री भानुभक्त ढकालकै शैलीमा भने, ‘निश्चिन्त हुनुस्, खोप आउँछ । ढुक्क हुनुस्, खोप सबैले निःशुल्क लाउन पाउँछन् ।’

खोप खरिदका लागि यसअघि नै परराष्ट्र मन्त्रालयले विभिन्न देशमा कूटनीतिक नोट पठाएको छ । खोप भण्डारणका लागि प्राविधिक काम भइरहेको खबर बाहिरिएको पनि एक महिना नाघिसक्यो ।

२ देखि ८ डिग्री तापक्रममा राख्न मिल्ने एक करोड ७० लाख खोप भण्डारण गर्न सक्ने भण्डारण केन्द्र सरकारको स्वास्थ्य प्रणाली भित्रै छ ।

कोभ्याक्समार्फत आउने भनिएको खोपभन्दा अगाडि सरकारले जिटूजी मोडलबाट नै खोप ल्याउने उनले बताए । साथै निजी क्षेत्रलाई पनि खरीद प्रकियामा संलग्न गराउने संकेत दिए । ‘हामीले खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई अलग राख्न चाहेका छैनौं ।

खोप अरु देशसरह नै छिटोभन्दा छिटो ल्याइनेछ’ उनले भने, ‘खोप वितरणमा फ्रन्टलाइनर वर्कर, दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेका छौं ।’

आम जनताहरूले खोप कहिले लगाउन पाउँछन् ? स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन्, ‘दक्षिण एसियाका अरु देशमा जहिले आउँछ, नेपालमा पनि त्यही बेला आउँछ ।’

मन्त्री त्रिपाठीले दाबी गरेको झैं दक्षिण एसियाको अरु देशमा झैं हुनको लागि यतिबेला नेपालमा पनि पूर्वतयारी र विकास भारत र बंगलादेशमा झैं हुनुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

भारतमा १६ जनवरीदेखि खोप लगाउन सुरु गर्ने खबर सार्वजानिक भइसक्दा नेपालमा कुन खोप कहाँबाट ल्याउने टुंगो समेत लागेको छैन । आजको मितिसम्म कुनै पनि कम्पनी या राष्ट्रले नेपाललाई खोप दिने लिखित प्रतिबद्धता गरिनसकेको स्वास्थ्यमन्त्री त्रिपाठी स्वीकार गर्छन् ।

यस्तो बेला सबैभन्दा सस्तो र प्रभावकारी खोप दिन प्रतिबद्धता गर्ने कम्पनीको खोप ल्याउने स्वास्थ्य मन्त्रालयको अडान भने गज्जबको छ ।

‘फागुनसम्म खोप आउने हो त ?’ पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘धेरै नबोल्नु नै राम्रो सन्देश हो ।’

दाताको आशमा सरकार

खोपसम्बन्धी पुर्वतयारी र स्वास्थ्य मन्त्रीको अभिव्यक्ति हेर्दा कोरोना खोपको लागि सरकार अझै दाताको आशमा रहेको देखिन्छ । पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले खोप कोषमा रकम हाल्नको लागि दाताहरुलाई आहृवान गरेको बताए ।

उनकाअनुसार कोभिड कोषमा जस्तै सरकार (स्थानीय, प्रदेश र संघ), स्वदेशी व्यक्ति, वित्तीय, सहकारी वा अन्य संघसंस्था, विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय संघसंस्था र अन्य स्रोतबाट खोप कोषमा रकम जम्मा गराउने योजना छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरूलाई सहयोग गर्न आग्रह गरिसकेको छ । दाताले स्वास्थ्यका अन्य क्षेत्रमा दिने सहयोग पनि कोषमा राख्ने व्यवस्था गर्न लागिएको छ ।

राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको  मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button