कांग्रेसमा मन्त्री बन्न दौडधुप : को-को छन् लाइनमा ? (नामावली सहित)

पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन।

तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो। सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति देउवालाई मिल्यो।

देउवा प्रधानमन्त्री भएसँगै कांग्रेसका सांसदहरू मन्त्री बन्न सक्रिय भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्।

सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन्।

कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्कालाई पनि सहभागी गराउने निश्चित रहेको स्रोतको दाबी छ। भुसाल अहिले कांग्रेस सचेतक छिन्। प्रमुख सचेतक खाँणले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी गरेका छन्। देउवानिकट केहीले भने राईलाई मन्त्री बनाउन सुझाएका छन्।

पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दाबी छ।

कांग्रेस संस्थापन इतर समूहका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी हुने छैनन्। संस्थापन इतरका दिलेन्द्रप्रसाद बडु पनि सरकारमा सहभागी हुने सम्भावना बढिरहेको छ।

एक नेताले भने, ‘प्रमोद यादव, राजन केसी, तुजुलाल चौधरीमध्येबाट सरकारमा सहभागी हुने सम्भावना बढी छ।’

केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई असार २९ गते नै संस्थापन इतर पक्षले सरकारमा पठाउन खोजे पनि देउवाले नचाहेको स्रोतको दाबी छ।

केन्द्रीय सदस्य गगन थापा पनि सरकारमा सहभागी हुन खोजेको जानकारी दिँदै ती नेताले भने, ‘सभापतिजीले मान्नुभयो भने संस्थापन इतर पक्षबाट उहाँ (गगनकुमार थापा) लाई पठाउनुपर्छ भन्ने मत छ।’

विगतमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको कोटाबाट स्वास्थ्यमन्त्री बनेका थापालाई अहिले फेरि संस्थापन इतर (रामचन्द्र पौडेलसहितको समूह) बाट सरकारमा पठाउने खोजिएका प्रति निकटहरूले असन्तुष्टि जनाउन थालेका छन्।

मन्त्री बन्नका लागि सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङसहितका नेताहरू पनि लागिपरेको स्रोतको दाबी छ।

पूर्वमहामन्त्री सिटौलाको कोटाबाट केन्द्रीय सदस्य उमाकान्त चौधरीलाई सरकारमा सहभागी गराउने तयारी छ। यसअघि सिटौला समूहबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थापा र देउवा नेतृत्वको सरकारमा भीमसेनदास प्रधान मन्त्री भएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रधानमन्त्री देउवालाई भारतीय प्रम मोदीद्वारा बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गर्नुभएको हो । 

सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताउनुभएको छ ।

त्यसैबीच प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालबाटै उहाँले दुवै देशबीचको सम्बन्धलाई सबल तुल्याउन प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गर्नुभएको छ ।

त्यस्तै  सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button