उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा बोलेरो दुर्घटनामा परी एक यात्रुको निधन भएको छ। बिहीबार विहान २ बजेको समयमा कटारीबाट गईरहेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप ताप्ली गाउँपालिका–५ दुधेस्थित भित्री सडकमा दुर्घटनमा पर्दा ताप्ली–५ का २५ वर्षीय रमेश नेपालीको निधन भएको हो।  

वर्षाले हिलाम्य भएर चिप्लो सडकमा जिप उकालो चढ्न नसकेपछि ओर्लने क्रमममा नेपालीलाई जिपको पछाडिको पाङ्ग्राले किच्दा गम्भीर घाइते भएका थिए।

कम्मरमुनिको भागमा जिपले किचेर घाइते उनलाई तत्काल उद्धार गरी उपचारार्थ कटारी अस्पताल पठाइएकोमा उपचारको क्रममा विहान ७ः३० बजे निधन भएको हो।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार पोष्टमार्टमको तयारी भईरहेको छ। चालक फरार रहेकाले खोजी भईरहेको छ भने जिप घटनास्थलमै रहेको इप्रकालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढी पहिरोले उत्तरी गोरखाका सर्वसाधारणलाई सास्ती

लगातारको वर्षातपछि बाढी पहिरोले १५ दिनदेखि उत्तरी गोरखा आउजाउ गर्ने बाटो टुटेको छ। सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पैदल हिड्ने बाटो दर्जनौँ ठाउँमा भत्किएपछि स्थानीय ज्यानका बाजी राखेर आउजाउ गर्न बाध्य छन्।

सामागाउँदेखि सिर्दिबास आउँदा नामरुङदेखि गप खण्डमा पैदलबाटो बूढीगण्डकीमा भासिएको छ। गपबाट बिही फेदीसम्म आउँदा तीन, चार ठाउँमा खुट्टा टेक्ने ठाउँ नै नभएको वडा नम्बर ४ का वडा अध्यक्ष पेमाडुण्डुप लामाले बताए।

कतै बूढीगण्डकीमा हेलिएर त कतै हात खुट्टा टेकेर हिड्नुपर्ने उनले बताए।  

सिर्दिबासबाट माछाखोलासम्म पनि तीन/चार ठाउँमा पैदल हिड्ने बाटो नै नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए। ‘वडाबाट उपभोक्ता गाउँपालिकाको केन्द्र आउने अवस्था छैन’ उनले भने ‘हामीलाई टेलिफोन, इन्टरनेट नहुँदा धेरै समस्या भयो।’ वर्षात् नहुँदा पनि चुमनुब्री गाउँपालिकाको केन्द्रमा इन्टरनेटको राम्रो सुविधा थिएन।

‘एक ठाउँमा होइन, कयौँ ठाउँमा पैदल हिँड्ने अवस्था पनि छैन’ चुमनुब्री गाउँपालिका ४ नामरुङका स्थानीय लाक्पाडुण्डुप लामाले भने ‘म त हेलिकप्टर चढेर माछाखोला आएँ, मसँगै १५/१८ जना मानिस पैदल हिड्ने बाटो नहुँदा हेलिकप्टरमा आयौँ ।’

सामाग्री ढुवानी गर्न गएको हेलिकप्टरमा माछाखोला झरेका उनी सदरमुकामको कार्यालय आउनुपर्ने थियो।

धार्चे गाउँपालिकाको माछाखोलादेखि सदरमुकाम आउने सडक पनि ठाउँठाउँमा पहिरिएकाले फेरि हेलिकप्टरमा आरुघाट गाउँपालिकाको मंगलटार आएको उनले बताए। ‘मंगलटारबाट रातीराती गाडीमा गोरखा बजार आएँ’ लामाले भने।

सदरमुकामका कार्यालयले उपभोक्ता मार्फत संचालन गरेको विकास निर्माणका विभिन्न कामको भुक्तानी, गाउँपालिकाको कामको भुक्तानी लिन आउन समस्या भएको उनले बताए।  

‘जसरी पनि आउनु त पर्यो, काम लगाएकालाई भुक्तानी दिनु बाँकी छ’ लामाले भने ‘गाउँपालिकाको केन्द्र सम्म आउन र सदरमुकाम आउन सामागाउँ, छेकम्पारकालाई उस्तै सास्ती छ।

’ गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्न गाउँपालिकाबाट नसकेपछि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। ‘हामीले गाउँपालिकाको केन्द्रबाट नियमित सेवा दिन सक्ने अवस्था नै भएन’ उनले भने।

‘उत्तरी गोरखामा निषेधाज्ञाको दुई महिना खाद्यान्न ढुवानी भएन, अहिले बाटै छैन’

निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आउजाउ ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ।

कोरोना संक्रमणको डरले बन्द गरिएको खच्चढबाट खाद्यान्न ढुवानी अहिले वर्षातले बाटो बन्द हुँदा रोकिएको स्थानीयले बताएका छन्।  

‘स्थानीय बजारमा पनि अहिले खाद्यान्न छैन’ चुमनुब्री ४ का लाक्पाडुण्डुप लामाले भने ‘बाटो पनि नहुने हो भने अब खाने कुराको हाम्रो क्षेत्रमा अभाव हुने भयो।’ चामल, नुन, तेल स्थानीय बजारमा अभाव हुन थालेको उनले बताए।

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री र सँगैको धार्चे गाउँपालिकालाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनुदानमा चामल बिक्री गर्ने गर्छ। धार्चेको माछाखोला र चुमनुब्रीको सिर्दिबासका डिपोबाट अनुदानको चामल बिक्री हुँदै आएको छ।  

नेपाल सरकारले सिर्दिबास डिपोका लागि तीन हजार पाँच सय र माछाखोला डिपोका लागि पाँच सय क्विलन्टल चामल यो वर्ष लैजाने योजना बनाएको थियो। तर अहिलेसम्म सिर्दिबास डिपोमा दुई हजार सात सय सात क्लिन्टल पठाइएको छ। योमध्ये पनि करिब पाँच सय क्लिवन्ट डिपोमा पुगेको छैन।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका गोरखा शाखा प्रमुख नवीन बस्नेतले पछिल्लोपटक जेठ २६ गते कार्यालयले सदरमुकामबाट खाद्यान्न पठाएको बताए। डिपोमा अहिलेसम्म करिब दुई हजार एक सय क्विन्टल मात्रै पुगेको छ।

अहिले सिर्दिबास डिपोमा करिब दुई सय क्लिवन्टल मात्रै चामल छ।  

माछाखोला डिपोमा पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा दुई सय क्विन्टल बाँकी छ। सदरमुकामस्थित गोदामबाट चलानी भएको तीन सयमध्ये पनि एक सय भन्दा बढी अझै पुग्न बाँकी छ।

यहाँ पाँच सात क्लिवन्टल मात्रै चामल बाँकी छ। ‘केही परिमाण त हामीले स्टक राख्नुपर्ने हुन्छ’ शाखा कार्यालय गोरखाका प्रमुख बस्नेतले भने ‘बाटो नहुँदा ढुवानी गर्न अहिले संभव भएन।’ माछाखोलाका लागि चुमकाङ निर्माण सेवा र सिर्दिबासका लागि प्रगती निर्माण सेवाले खाद्यान्न ढुवानीको जिम्मा लिएका हुन्।  

निर्माण कम्पनीसँग असार मसान्तभित्र ढुवानी गर्ने सम्भौता छ।  निषेधाज्ञा र बाटो देखाएर उनीहरुले ढुवानी गर्ने अवस्था छैन।

हेलिकप्टरबाट ढुवानीका लागि गृह मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग समन्वय भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button