ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको थापाको भनाइ छ।

नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएको थापाको भनाइ छ।

उनले बुधबार ट्वीट गर्दै सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने पनि बताएका छन्। उनले यस्ता कार्यक्रम रोकेरै छाड्ने बताएका छन्।

यस्तो छ थापाको भनाइ:

संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।

वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ।

यो नीतिगत भ्रष्टाचार हो। आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन: छर्लङ्ग भएको छ।

चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो।

यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।

अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।

आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु।

उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर खुल्ने

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले  निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो। 

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ। 

तर,  किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्। 

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ। 

‘साबिकमा हामीले किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर बन्द गराएका थियौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘अब निषेधाज्ञा केही खुकुलो भएको बुझ्नुपर्छ।’ 

उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्म लागू हुन्छ। त्यसपछि नयाँ नियम कार्यान्वयनमा आउने छ।

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए।

आजको बैठकमा के-के विषयमा छलफल हुनेछ भन्ने खुलाइएको छैन। पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन्।

यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो।

नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस प्रगति भइनसकेको बताएको छ। 

‘सोमबार राति कुराकानी भएको हो त्यसयता कुनै प्रगति भएको छैन,’ नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले भने।

यसअघि ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरूले सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा झन्डै चार घन्टा छलफल गरेका थिए।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button