कार्यालय तोडफोड घट्नामा संलग्नलाई कारवाही नगरे प्रतिकार गर्ने भीम रावलको चेतावनी
सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नलाई कारवाही गर्न माग गरेका छन्।
तोडफोडमा संलग्नलाई अविलम्ब कारवाही गर्न उनले माग गरेका छन्। घट्नामा संलग्नलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको आरोप छ। रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै रावलले यस्तो बताएका हुन् ।
उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए। ‘कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भए’, रावलले भने, ‘म यो घट्नाको निन्दा गर्छु। यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो।’
रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने पनि सुनाए। उनले भने,‘त्यो बैठकबाट बैठकबाट निर्देशन आउला। विभिन्न कमिटी छन्। ती सबै विधिबाट जान्छन्। अब नयाँ किसिमले जान्छौं।’
अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएको अवस्थामा लेखराज भट्ट इन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त ? भन्दै उनले प्रश्न गरे। उनले भने,‘गुण्डागर्दी गरेर धम्कीले कसैको साननबोर्ड तोडेर आफ्नो मान हुन्छ त ? गृह प्रशासनलाई खबर गरेको छु। हाम्रो सुरक्षा हामी आँफै गर्छौं भनेको छु। हाम्रो पार्टीका महासचिवलाई पनि जानकारी गराएको छु। कम्युनिस्ट आन्दोलनलाई जोगाउने उद्देश्य छ भने यस्तो काम बन्द गर्नुपर्छ।’
कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।