केपी ओली कसरी पैदा भए ? यसको समिक्षा गर्नुपर्छ : जनार्दन शर्मा
नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले जनताको आवाज नसुनिए शानितपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने बताएका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट आफूहरुका माग नसुनिए जनता बाध्य भएर विद्रोहमा जान सक्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले भने, ‘जनताका आवाज सुन्दैनन् भने शान्तिपूर्ण आन्दोलन गरिरहेका जनता विद्रोहमा उत्रिनन्छन् र संघीयता विरोधीलाई समाप्त पार्नेछन् ।’
उनले संविधानमा लेखिएको जनताको अधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको भन्दै जनताको समस्या समाधान गर्नुपर्ने ठाउँमा ओलीहरुले ओम्नीहरुलाई संरक्षण गरिरहेको बताए ।
उनले समावेशी समानुपातिक अधिकार बोलीमा सीमित गर्ने, मौलिक अधिकारलाई नारा मात्रै बनाउनेविरुद्ध निरन्तर आन्दोलन गर्नुपर्ने भन्दै पार्टीभित्रको लोकतन्त्रलाई पनि मजबुत बनाइनुपर्ने बताए ।
‘यो सीमित अधिकारको परिणाम हो । केपी ओली कसरी पैदा भए ? यसको समिक्षा गर्नुपर्छ । अन्यथा यो स्वीकार गरेनौँ भने फेरि महेन्द्र र ओलीहरु जन्मिन्छन्’शर्माको भनाइ छ । उनले दलालको बीचमा नभइ जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने पनि बताए ।