‘दाहाल र नेपालले दुनियाँलाई रुवाउँदा मैले हँसाएँ : प्रधानमन्त्री ओली

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका कुनै न्यायाधीशलाई आफूले भेटेको प्रमाणित गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले शनिबार आफू नेतृत्वको नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै आफूले भेटेको भनी नाम आएका न्यायाधीशलाई सायद कहिल्यै नभेटेको र नचिनेको पनि बताए ।

ओलीले ‘यस्तो झुट र बेइमानीको सहारा’ नेकपाकै अर्को खेमाका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिन थालेको आरोप लगाए । ‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद् पुनःस्थापना हुनुपर्छ भनेर अदालत जानुहुन्छ। उहाँहरूसँग कुनै तर्क छैन। झुट र बेइमानीको सहारा लिएर उहाँहरू बोल्नुभएको छ’, ओलीले भने, ‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए। यति बजेदेखि यति बजेसम्म भन्नुभन्दा झुट के हुन्छ ? न्यायालयमाथि योभन्दा ठूलो प्रहार के हुन्छ रु उहाँहरू यो कुराको प्रमाणित गर्नुहुन्छ ? एकपटक होइन, सायद कहिल्यै भेटेको छैन ।’

उनले सपना प्रधान मल्ललाई न्यायाधीश हुनुअघि कार्यक्रममा देखेको उल्लेख गरे। ‘अरू न्यायाधीशलाई मैले देखेको पनि छैन र चिनेको पनि छैन’, उनले भने, ‘एउटा पत्रिका जो झुट बोल्ने प्रक्रियाको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्चले भनिसक्यो । फेरि आज पनि न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको हो भनेर समाचार लेख्यो । लोकतान्त्रिक संस्थामाथि हमला ?’

दाहाल र नेपाललाई अध्यक्ष र वरिष्ठ नेताको पद अझै नखोसेको भन्दै उनले अझै पार्टीमा आउन आग्रह गरे। ‘अब परिस्थितिको आकलन भइसक्यो होला । बुझिसक्नुभयो । तपाईंको अध्यक्ष पद खोसेको छैन आउनुहोस् । वरिष्ठ नेताको पद खोसेको छैन आउनुहोस्’, उनले भने, ‘उहाँहरू कुद्नुभएको छ । मनपरी बोल्नुभएको छ । मुख छाड्नुभएको छ। यस्तो बोल्दा पनि केपी ओली मुस्कुराएको छ । के भएको छ। चुनाव हुँदै छ, हामी जित्दै छौँ । आउनुहोस् पार्टीमा आउनुहोस् । पार्टीमा आउने भनेको चुनावमा आउने हो ।’

उनले दाहाल र नेपालले दुनियाँलाई रुवाउँदा आफूले हँसाएको बताए । ‘उहाँहरूलाई केपी ओलीले मान्छे हँसाउँदै हिँड्दा चिन्ता छ । के म दुनियाँलाई रुवाउँदै हिँडौँ ? म बालबालिका, किशोरकिशोरी, युवा, दाजुभाइ दिदीबहिनी, बाआमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छु । मजदुरमा मुस्कान ल्याउन चाहन्छु ।

उनीहरूका आँखामा आँसु हुनु हुँदैन’, उनले भने, ‘उहाँहरूले कसैको घोडा खोसेर रुवाउनुभयो। कसैलाई गाडी खोसेर रुवाउनुभयो । कसैको खेत खोस्या छ । कसैको घर र पैसा खोस्या छ। रुवाउने अनेक काइदा छन् । अनि मैले हँसाएँ भनेर कुरा गरिराख्नुभएको छ । जता गए पनि हँसाएर मख्ख पार्‍यो भनेको छ । नेपाली जनता हाँस्दा किन पिर परेको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button