कोरोना फेरि बढ्न थालेको छ, स्थिति भयावह हुन नपाओस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् ।
बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताए । यद्यपि, अहिले भयावह स्थिति नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताए ।
उनले भने, ‘तीन दिनदेखि लक्षणहरु फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ ।’
ओलीले अघि भने, ‘पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्ण रुपमा नियन्त्रण गर्न सामाजिक दूरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने । संक्रमण हुने स्थिति नहोस् ।’