उपप्रमुखहरुलाई माओवादी नेता सुवेदीले भनिन् : आगामी स्थानीय तह निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुस्

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छिन् ।

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताएकी हुन् ।

त्यसको निम्ति आउने बाधा, अड्चनमा आफूहरुले साथ दिने उनले बताइन् । उनले महिला जनप्रतिनिधिहरुले महिलाहरुको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडी ल्याउनुपर्ने पनि बताइन् ।

निर्वाचित जनप्रतिनिधिहरुलाई जनतालाई निराश नबनाउन पनि उनले आग्रह गरिन् । ‘यो अवसरलाई कसरी हामीले सदुपयोग गर्ने ? तपाईहरु समाजमा गएर, जनताको सेवामा सर्पपित भएर, जनताको मन जितेर, जनतालाई आकर्षित गरेर, जनतालाई विश्वास दिलाएर तपाईहरु यहाँ आउनुभएको छ ।’ उनले भनिन्, ‘यो जनताको विश्वासलाई, जनताको माया, सद्भावलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ । जनतालाई निराश बनाउनु हुँदैन । अझ बढी तपाईहरुको दोहोरो भूमिका हुन्छ । एउटा, समाजसेवा, राजनीतिक सेवा । दोस्रो महिलाहरुको क्षमता विकास । महिलाहरुलाई पनि आफू सँगसँगै अगाडी ल्याउनुपर्‍यो ।’

उनले राजनीतिक परिवर्तनमा महिलाहरुको भूमिका धेरै रहेको उल्लेख गरिन् । अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच बधाई तथा अभिनन्दन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button