
विश्वकपपछि विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने
काठमाडौं। भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली टिमको कप्तान पदबाट हट्ने भएका छन् । उनले टि–२० विश्वकपको समाप्तिसँगै आफू टि–२० टिमको कप्तान पदबाट हट्ने बताएका छन् । उनले बिहीबार भारतको टि–२० कप्तानी छोड्ने घोषणा गरेका हुन् । उनले एकदिवसीय र टेस्टको कप्तानीबारे केही भनेका छैनन् जसको अर्थ बीसीसीआइले नहटाएमा उनी यी दुई फर्म्याटमा भने कप्तान रहिरहनेछन् ।

विराटले कप्तानी छोड्ने घोषणा गरेसँगै निकै आश्चर्यजनक खबरहरु आइरहेका छन् । प्रेस ट्रस्ट अफ इण्डियाको एक रिपोर्टअनुसार कोहली उपकप्तान पदबाट रोहित शर्मालाई हटाउन चाहन्थे । रिपोर्टका अनुसार विराट सीमित ओभरको क्रिकेटमा रोहितलाई उपकप्तान पदबाट हटाउने प्रस्ताव लिएर छनोटकर्ताकहाँ गएका पनि थिए । विराटले रोहित ३४ वर्षको भइसकेकोले अब एकदिवसीयमा लोकेश राहुल र टि–२० मा ऋषभ पन्तलाई उपकप्तान बनाउने प्रस्ताव गरेका थिए ।

बीसीसीआइ सूत्रले पिटिआइसँग भन्यो ‘कोहलीको यो प्रस्ताव बोर्डलाई मन परेन किनकि उनीहरुलाई लाग्यो कि विराट वास्तवमा आफ्नो कुनै उत्तराधिकारी चाहँदेनथे । विराट र रोहितबीच विवादको खबर आएको यो पहिलो पटक होइन । २०१९ को एकदिवसीय विश्वकपको क्रममा पनि विराट र रोहितले एक अर्कासँग कुरा नै गर्दैनन् भन्ने खबर आएको थियो । तर, पछि मुख्य प्रशिक्षक रवि शासत्रीले यी कुरा गलत भएको बताएका थिए ।
रिपोर्टमा विराट कोहलीलाई टिमका सबै खेलाडीको समर्थन नभएको समेत दावी गरिएको छ । खासगरी विराटले टिमका जुनियर खेलाडीलाई बीचमै छाडिदिन्छन् । पिटिआइसँग कुरा गर्दै एक पूर्व क्रिकेटरले भने ‘विराटसँग समस्या संवादको हो । महेन्द्र सिंह धोनीको कोठा २४ घण्टा खुला रहन्थ्यो र कुनै पनि खेलाडी भित्र जान सक्थे । उनीसँग भिडियो गेम खेल्न, खाना खान र क्रिकेटको कुरा गर्न सक्थे । तर, मैदानबाहिर कोहलीसँग सम्पर्क गर्न पाउनु निकै कठिन छ ।’
विराट कोहलीले कप्तानी छोडेपछि अब रोहित शर्मालाई टि–२० कप्तान बनाइने सम्भावना सबेभन्दा उच्च छ किनकि उनी आइपिएलका सबैभन्दा सफल कप्तान हुन् । आइपिएलमा उनी महेन्द्र सिंह धोनीभन्दा पनि सफल छन् । उपकप्तानी ऋषभ पन्त वा लोकेश राहुललाई दिन सकिनेछ । तीब्र गतिका बलर जसप्रित बुमराह पनि उपकप्तानको दौडमा रहनेछन् । बीसीसीआइ सूत्रले भन्यो ‘पन्तको दावी बलियो छ तर लोकेश राहुललाई पनि अस्वीकार गर्न सकिन्न किनकि उनी पनि आइपिएल कप्तान हुन् । जसप्रित बुमराह पनि ‘छुपा रुस्तम’ प्रमाणित हुन सक्छन् ।’