
भारतसँग चौथो टेस्टमा बेलायत १ सय ५७ रनले पराजित
पाहुना भारतले चौथो टेस्टमा इंग्ल्याण्डलाई १ सय ५७ रनले पराजित गरेको छ। जितसँगै उसले ५ खेलको शृंखलामा २–१ को अग्रता पनि लिएको छ।

टेष्ट जित्नका लागि इंग्लयाण्डले ३ सय ६८ रनको लक्ष्य पाएको थियो। उसले म्याचको अन्तिम तथा पाँचौं दिन सबै विकेट गुमाएर जम्मा २ सय १९ रन मात्र बनाउन सक्यो।

बेलायतका लागि हसिब हमिदले ६३, रोरी बर्न्सले ५०, जो रूटले ३६, क्रिस वोक्सले १८, क्रेग ओभरटनले १० रन बनाउँदा ओली रोबिन्सन १० रनमा नटआउट रहे।
बलिङमा भारतका उमेश यादवले ३, जसप्रीत बुमराह, रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २–२ विकेट हात पारे।
त्यसअघि चौथो दिन दोस्रो पालीमा भारतले सबै विकेट गुमाएर ३ सय ६७ बनाएको थियो। उसका लागि ओपनर रोहित शर्माले शतकीय पाली खेले। रोहितले २ सय ५६ बलमा १ सय २७ रनको उत्कृष्ट पारी खेले। रोहितले १४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, शार्दुल ठाकुरले उत्कृष्ट ब्याटिङ गरे। उनले ७० बलमा ७ चौका र १ छक्कासहित ६० रन बनाए। चेतेश्वर पुजाराले ६१, ऋषभ पन्तले ५०, केएल राहुलले ४६, कप्तान विराट कोहलीले ४४, उमेश यादवले २५, जसप्रीत बुमराहले २४ र रवीन्द्र जडेजाले १७ रन जोडे।
बेलायतका लागि बलिङमा क्रिस वोक्सले ३, ओली रोबिन्सन र मोइन अलीले २–२ तथा जेम्स एन्डरसन र क्रेग ओभरटनले १–१ विकेट हात पारे।
यसअघि पहिलो पालीमा बेलायत २ सय ९० रनमा अलआउट भएको थियो। उसका लागि ओली पोपले शानदार पाली खेले। उनले १ सय ६९ बलमा ६ चौकासहित सर्वाधिक ८१ रनको योगदान दिए।
बेलायतका लागि क्रिस वोक्सले ५०, जोनी बेयरस्टोले ३७, मोइन अलीले ३५, डेविड मलानले ३१ र कप्तान जो रूटले २१ रन बनाए।
भारतका लागि उमेश यादवले उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट लिए। जसप्रीत बुमराह र रवीन्द्र जडेजाले २-२, शार्दुल ठाकुर र मोहम्मद सिराजले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पालीमा ६१ दशमलव ३ ओभरमा जम्मा १ सय ९१ रन मात्र बनाएर अलआउट भएको थियो। उसका लागि शार्दुल ठाकुरले आक्रामक ब्याटिङ गरेका थिए। उनले ३६ बलमा ७ चौका र ३ छक्कासहित ५७ रन बनाएका थिए।
कप्तान कोहलीले ५० रन, केएल राहुलले १७, उपकप्तान अजिंक्य रहाणेले १४, रोहित शर्माले ११, उमेश यादव र रवीन्द्र जडेजाले १०–१० रन बनाएका थिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा क्रिस वोक्सले ४, ओली रोबिन्सनले ३, क्रेग ओभरटन र जेम्स एन्डरसनले १–१ विकेट लिएका थिए।
तेस्रो टेस्टमा भारत इंग्ल्याण्डसँग एक इनिङ्स र ७६ रनले पराजित भएको थियो। दोस्रोमा भने भारतीय टिमसँग बेलायतले १ सय ५१ रनको फराकिलो हार बेहोरेको थियो। शृंखलाको पहिलो खेल वर्षाका कारण बराबरीमा सकिएको थियो।



