
ओलिको यो निर्णयले नेता कार्यकर्ता चकित
एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्।

नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन्।

‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने।
एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्।
नेपाल पक्षका रहेका तर विभाजनतिर नलागी १० बुँदे कार्यान्वयन गर्नुपर्छ भन्ने नेताहरूलाई ओलीले खासै चासो नदिएपछि उनीहरू नेपालतिरै लाग्ने सम्भावना बढेर गएको छ।
पार्टी विभाजनतर्फ उन्मुख भए पनि नेपाल पक्षका नेताहरूले १० बुँदे कार्यान्वयन गर्न जोड दिएका हुन्।
उनीहरू शुक्रबार राजधानीको एक पार्टी प्यालेसमा सांसद र केन्द्रीय समितिमा रहेका ५७ जना नेतासँग पनि थप छलफल गरेर ओलीलाई १० बुँदे सहमति अक्षरस पालना गर्न र नेपाललाई पार्टी दर्ता गर्नबाट पछि हट्न आग्रह गरेका थिए।
‘मंगलबारभित्र १० बुँदे सहमतिको अक्षरस पालना गर्न समयसीमा दिइएको हो, तर ओलीले विभाजनमै जोड दिएजस्तो लाग्छ। उनले सहमति गर्ने चासो दिएका छैनन्,’ मध्यमार्गीको भूमिका निर्वाह गरेका एक नेताले भने।
प्रधानमन्त्री देउवासँग भाजपाका विदेश विभाग प्रमुखको शिष्टाचार भेट
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले शिष्टाचार भेट गरेका छन् ।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।
दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताए । सहमहामन्त्री डा महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटघाट प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्री नियुक्ति भएर संसदमा विश्वासको मत लिएपछि मात्रै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई औपचारिक बधाई दिएका थिए । विगतका परम्पराझै हालसम्म प्रधानमन्त्री देउवाले भारत भ्रमणको निम्तोसम्म पाएका छैनन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको र एमाले विभाजित भएको अवस्थामा भारतीय नेताहरुको दौडधुपलाई चासोका साथ हेरिएको छ ।
भाजपाका वरिष्ठ नेतामध्येका एक डा। दिनेश उपाध्याय पनि केही दिनदेखि काठमाडौंमा छन् ।
भाजपा निकट सूत्रका अनुसार नेपालमा केहीदिनमै राजनीतिक उतारचढावको सम्भावना छ ।



