संक्रमणकै कारण अस्ताए राजधानी न्युज पब्लिकेशनका अध्यक्ष , आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

काठमाडौं, ३ भदौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको  भाइरस संक्रमणबाट निधन भएको छ । ६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ ।

उपचारको क्रममा उनको नेपाल एपीएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो । राजधानी पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् ।

संविधानसभा सदस्य समेत रहेका शेरचन वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष थिए । शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

यो पनि , कालीकोटका विद्यालय सञ्चालनमा
कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताउनुभयो ।

“विद्यालय सञ्चालन गर्न शिक्षकलाई कोभिड–१९ परीक्षण अनिवार्य गरिएको छ, कोभिड–१९ विरुद्धको खोप लगाएर विद्यालय सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएअनुसार विद्यालय सञ्चालन गर्न लागिएको हो ।”

विद्यालय सञ्चालन गर्ने परिपत्र गाउँपालिकाको शिक्षा शाखाले गरिसकेको र स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै समयमै विद्यालय सञ्चालन गरिने जनप्रभात माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले बताउनुभयो ।

“विद्यालय पोसाकमा विद्यालय आउनका लागि शिक्षक तथा विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गरिनेछ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई ज्वरो आयो वा कोभिड–१९ का लक्षण देखिएमा स्वास्थ्य कार्यालयले स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।”

गाउँपालिकाले सबै विद्यालय सञ्चालन गर्नाका साथै कक्षा १ देखि १२ सम्म अध्यापनको थालनी गरेको शिक्षा शाखाले जनाएको छ । त्यस्तै जिल्लाको पचालझरना गाउँपालिकाले जोरबिजोर कक्षा सञ्चालन गरेर विद्यालय सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका सबै विद्यालयमा जोर बारमा जोर कक्षा र बिजोर बारमा बिजोर कक्षाका विद्यार्थीलाई पढाउने गरेर विद्यालय सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको पढाइमा असर परेका कारणले विद्यालय जोरबिजोरका आधारमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर शाहीले जानकारी दिनुभयो ।

“विद्यार्थीको पढाइमा बाधा पुगेकाले कक्षा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा नियमित अध्यापनको व्यवस्था गरेका हौँ ।”

भेटियो कोभिडविरुद्धको नक्कली खोप , डब्ल्यूएचओले दियो यस्तो चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली संस्करण भेटेको बताएको छ । ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेको डब्ल्यूएचओले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ । (सांकेतिक तस्बिर )

कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । डब्ल्यूएचओले नक्कली खोपले विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने चेतावनी दिएको छ । सङ्गठनले त्यस्ता खोपलाई वितरणबाट हटाउन भनेको छ । भारत सरकारले यसबारे औपचारिक धारणा राखेको छैन । तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ ।

‘हामीसँग यस्तो घटना रोक्न प्रभावशाली संयन्त्र भए पनि यो घटनापछि हामीले चाहेको कुरा भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो,’ मिन्ट वेबसाइटले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गरेको छ । कोभिशील्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ ।

सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिअनुरूप भारतले छिमेकी देशहरूलाई पनि यो खोप दिएको थियो ।

तर एप्रिल र मेमा भारतमा खतरनाक कोभिड महामारी फैलिएपछि यसको निर्यातलाई भारत सरकारले रोकेको थियो जुन अहिलेसम्म कायम छ । सेरमले पनि प्राथमिकतामा भारत रहेको भन्दै यो वर्षको अन्त्यसम्म खोप निर्यात नगर्ने बताएको छ । नेपालले खरिद गरेको २० लाख मात्रामध्ये १० लाख मात्रा सेरमबाट पाउन बाँकी छ ।

कोभिडबाट सबैभन्दा प्रभावित दोस्रो देश भारतले यो वर्षको अन्त्यसम्म सबै योग्य नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । तर ज्यानुअरीदेखि अहिलेसम्म त्यहाँ १३ प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण मात्रा खोप पाएका छन् ।

भारतमा हाल तीन लाख ६७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् र अहिलेसम्म चार लाख ३२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बुधवार भारतमा थप ३५,१७८ जनामा सङ्क्रमण पुष्टि भयो भने ४४० जनाको मृत्यु भयो । त्यहाँ अहिलेसम्म तीन करोड २२ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् । बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button