
जातीय विभेद प्रकरण : मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गराए सचेत
१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।
तीन दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नो झण्डावाल गाडीमा लिफ्ट दिएर लगेका थिए ।
रामचन्द्रलाई शेखरको प्रस्ताव : म सभापति बन्छु, तपाईं प्रधानमन्त्री
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
‘उहाँहरु दुवै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुवैले एकअर्कालाई सहयोग गर्न आग्रह गरे’ पौडेल निकट एक नेताले अनलाइनखबरसँग भने, ‘रामचन्द्र दाइले एकपटक कांग्रेसको सभापति बन्ने इच्छा छ, यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गर्नुभयो तर शेखरले तपाईं प्रधानमन्त्री बन्नुस्, म सभापति बन्छु भन्नुभयो ।’
वरिष्ठ नेता पौडेलले लामो राजनीतिक यात्रामा सधैं निष्ठापूर्वक काम गरेको भन्दै एकपटक सभापति बन्ने इच्छा रहेको बताएका थिए । तर कोइरालाले आफूले १३ औं महाधिवेशन लगत्तै सभापतिमा उम्मेदवारी दिने तयारी गरिसकेकाले पछाडि फर्कन नसक्ने जवाफ दिएका थिए ।
‘तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर योगदान दिनुस्, तपाईंलाई आउने आम निर्वाचनमा पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु’ कोइरालाले पौडेललाई भनेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुको भेटघाट बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने बताइसकेका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
आकांक्षी धेरै भएकाले सहमतिमै नेतृत्व चयन गर्न नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको हो ।
बैठकमा क्रियाशील सदस्यताको विषयमा कुराकानी भएको ती नेता निकट स्रोतले बताएको छ । कांग्रेसमा अहिले आठ लाख भन्दा बढी क्रियाशील सदस्यतामाथि छानबिन भइरहेको छ । कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यप्रति सबैको चासो छ ।
संस्थापनइतर समूहले क्रियाशील सदस्यतामाथि परेका उजुरीको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिंदै आएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन भइसकेको छ ।



