
ओलीको तानाशाही अब देशले धान्न सक्दैन, छिट्टै निकास पाउँछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने जिकिर गरेका छन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताए ।

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनितिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनितिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशिल रहेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने बताए ।
आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए ।
प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गीय हरिप्रसाद पण्डितले कम्युनिस्ट आन्दोलनलाई ठुलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समबेदना व्यक्त गरेका थिए । पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भएको थियो ।
सोमबार सा‘झ चितवन आएका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल बर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं. २६ को सिसई लगायतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरुसँग जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल गरि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
जोर–विजोर प्रणालीमा टुटल र पठाओको सेवा आजबाट शुरु
जोर–विजोर प्रणालीमा भाडाको ट्याक्सीसँगै निजी सवारी साधनहरु समेत खुलेसँगै आजबाट राइड सेयरिङ्ग ‘टुटल’ र ‘पठाओ’ ले पनि आ–आफ्नो सेवा सुरु गरेका छन् ।
कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि उपत्यकासहित उपत्यका बाहिरका मुख्यमुख्य सहरहरुमा निषेधाज्ञामा लागू गरिएको थियो ।
योसँगै राइड सेयरिङ्ग टुटल र पठाओको सेवा समेत करिब दुई महिना रोकिन पुगेको थियो ।
पछिल्लो समय सरकारले असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा निजी सवारी साधनसँगै भाडाका ट्याक्सीलाई समेत चल्न दिने निर्णय गरेसँगै आजबाट यी कम्पनीहरुले पनि आफ्नो सेवा सुरु गरेका हुन् ।
सो बारे कुरा गर्दै टुटलका प्रवन्ध निर्देशक शिंक्षित भट्टराईले आजबाट टुटलको सेवा पनि सुरु भएको जानकारी दिए ।
यद्यपि, सेवा भने सरकारले तोकिएकै मापदण्ड अनुसार जोर–विजोर प्रणालीमै सञ्चालन हुने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरिने उनले जानकारी दिए । तर, यसको ग्यारेन्टी भने, राइडर र प्यासेन्जर स्वयं आफै हुनुपर्ने उनको भनाई छ ।
यस्तै, अर्को राइड सेयरिङ्ग प्ल्याट फर्म पठाओले पनि आजबाटै सेवा सुरु गरेको जनाएको छ ।
अहिलेको जोखिमयुक्त समयमा त्यो पनि जोर विजोर प्रणालीमा खुलेको सेवालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा भने गृहकार्य हुँदै गरेको पठाओका प्रवन्ध निर्देशक आसिम मान बस्न्यातले बताए ।



