
राप्रपामा बुढापाका हावी, नेतृत्व हस्तान्तरणको एजेण्डा उठाउनेलाई ‘कारबाही’ !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला पछिल्लो समय सो पार्टीले गठन गरेको महत्त्वपूर्ण समितिमै त्यस्तो धारको नेतृत्व गर्ने नेताहरुलाई ‘आउट’ गरिएको पाइएको छ ।

त्यस्तो समितिमा परीक्षण भइसकेका नेताहरुकै बाहुल्यता रहेको छ भने समानुपातिक समावेशिता अँगाल्ने पार्टीको नीति समेतलाई उलंघन गरिएको नेताहरुले बताएका छन् ।

राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको घोषणा गरेको थियो । केन्द्रीय निर्देशन समिति ५५ सदस्यीय र विशेष समिति २५ सदस्यीय रहेको छ ।
पार्टीको विधान तथा एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको भनिएपनि पुस्तान्तरणको एजेण्डा उठाउने नेताहरुलाई नसमेटिकन कमिटीलाई पूर्णता दिइएको हो ।
समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्नेछ भने यी दुई कमिटीलाई पार्टीको शक्तिशाली कमिटी मानिन्छन् ।
नेताहरुका अनुसार निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनेछन् । यससँगै पार्टीले पहिला गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको छ ।
यसबाहेक प्रतिनिधिसभामा जम्मा १ सिटको प्रतिनिधित्व रहेको राप्रपामा भागबण्डाकै लागि केन्द्रीय कार्यसम्पादन समिति पनि रहेको छ भने केन्द्रीय समिति पनि ८०० सदस्य भन्दा माथिको रहेको छ ।
पार्टीभित्र कमिटीहरु धेरै रहेको अवस्थामा शुक्रबार बनाइएको निर्देशन र विशेष समिति अर्थपूर्ण हुने भएपनि छुटाउनै नहुने नेताहरुलाई छुटाइएको भन्दै पार्टीभित्र सार्वजनिक रुपमै टिकाटिप्पणी समेत हुन थालिसकेको छ । यसले राप्रपा थप संकटमा फस्नसक्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।
राप्रपाले बनाएको केन्द्रीय निर्देशन समितिमा कमल थापा, प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणासहित, अर्जुन राइ, इन्द्र चित्रकार, ऋषि बाबु परियार, कृष्णप्रताप मल्ल, गीता भक्त जोशी, जगत गौचन, ठाकुर प्रसाद शर्मा, दिनेश श्रेष्ठ, दिपक बोहरा, धर्मराज जोशी , ध्रुव बहादुर प्रधान, निरञ्जन थापा, प्रेम बहादुर भण्डारी, बिक्रम पाण्डे, बुद्धिमान तामाङ्ग, भरत गिरी, भास्कर भद्रा, भुवन पाठक, मोहन प्रसाद यादव, राजीव पराजुली, राजेन्द्र लिङ्गदेन, राम थापा, रामचन्द्र राय, रामप्रसाद साह (भोला), लक्ष्मी प्रसाद संग्रौला, श्यामप्रसाद तिमिल्सिना र हेमजंग गुरूङ रहेका छन् ।
यसैगरी उद्धव पौडेल, कुन्ती कुमारी शाही, गणेश शेरचन, चन्द्र बहादुर गुरूङ, जयन्त चन्द, तोरण बहादुर गुरूङ, दिपक बहादुर सिंह, दुर्गा श्रेष्ठ, धवल शम्शेर राणा, नवराज सुवेदी, निलकण्ठ काफ्ले, बालाराम घर्तिमगर, बिक्रम बहादुर थापा, भक्तिप्रसाद सिटैला, भरतजंग उप्रेती, भिम प्रसाद गौचन, मुकुन्द श्याम गिरी, राजाराम श्रेष्ठ, राजेन्द्र गुरूङ, राजेन्द्र वीर राय, रामकुमार सुब्बा, रामनरेश यादव, रोशन कार्की, शुसिलकुमार श्रेष्ठ र हरि बहादुर बस्नेतलाई पनि निर्देशन समितिमा समेटिएको छ ।
यसैगरी विशेष समितिमा कमल थापा, पशुपतिशमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीसहित उद्दब पौडेल, गणेश शेरचन, जयन्त चन्द, ठाकुरप्रसाद शर्मा, तोरणबहादुर गुरूङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधान सदस्य, नवराज सुवेदी, निरञ्जन थापा, निलकण्ठ काफ्ले, बिक्रम पाण्डे, बिक्रमबहादुर थापा, बुद्धिमान तामाङ, भास्कर भद्रा, भुवन पाठक, राजीव पराजुली, राजेन्द्र लिङ्गदेन, रामचन्द्र राय, रोशन कार्की, सुशीलकुमार श्रेष्ठ, श्यामप्रसाद तिमिल्सिना र हरिबहादुर बस्नेत रहेका छन् ।
तर पार्टीका उपाध्यक्ष र दुई पदक महामन्त्री भइसकेका नेता धवल शमशेर राणालाई समेटिएको छैन । राणालाई निर्देशन समितिमा राखिएपनि विशेष समितिमा नराखिएको छ ।
उनीबाहेक प्रह्लाद शाह, दुर्गा श्रेष्ठ, केदार कोइराला, श्याम शाही, रामकुमार सुब्बा, दीलनाथ गिरी लगायतलाई विशेष समितिमा राखिएको छैन । नेताहरुको दावी अनुसार उनीहरुले नेतृत्व हस्तान्तरणको विषयमा लबिङ गरेकै कारण ‘साइज’ मा राख्ने अभिप्रायले नसमेटिएको हो ।
पार्टी स्रोतका अनुसार गठन गरिएको कमिटीमा युवा पुस्ताको सहभागितालाई महत्व दिइएको छैन ।
दुबै समितिमा ६० कटेका नेताहरुकै बाहुल्यता रहेको छ भने त्यसमा भौगोलिक, समानुपातिक समावेशी, दलित, महिलालगायत प्रतिनिधित्वको अवस्था पनि दयनीय रहेको छ ।
विशेष समितिमा १३ जना नेता त बागमती प्रदेशबाट मात्रै रहेका छन् भने अन्य प्रदेशबाट नगन्य सहभागिता हुनुका साथै कर्णाली प्रदेशबाट कोही हटाएका छैनन् ।
यस्तै विशेष समितिमा ६० वर्ष उमेर भन्दा कमका जम्मा २ नेता मात्रै रहेका छन् भने निर्देशन समितिको ५५ जनामध्ये जम्मा १० जनामात्रै ६० वर्ष भन्दा कम उमेरका छन् । उनीहरुमध्ये पनि अधिकांश ५० वर्ष भन्दा माथि कै भएको नेताहरु बताउँछन् ।
राप्रपाका कार्यसम्पादन समितिका सदस्य सगुन सुन्दर लावतीले वैकल्पिक राजनीतिक शक्ति बन्ने योजना बनाएको पार्टी समावेशी भएको भए चलायमान बनाउन सहज हुनेथियो भन्ने धारणा राख्छन् ।
‘विकल्प दिने भनेर आएको पार्टी समावेशी हुनुपर्दथ्यो तर त्यो भएन, भए सुनमा सुगन्ध हुन्थ्यो’, उनले रातोपाटीसँग भने ।
धवल आक्रोशित !
पार्टीको विशेष समितिमा आफूलाई नराखिएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका नेता धवल शमशेर राणा आक्रोशित बनेका छन् । विशेष समितिमा आफू स्वत पर्ने भएपनि पूर्वाग्रह साँधिएको उनको बुझाइ छ ।
उनीहरुको हतास मानसिकताको उपज हो । राम्रो कुरा उठाउँदा धेरै पटक अपमानित भइयो, पछिल्लो पटक पनि अपमानित गर्ने काम भएको छ’, उनले भने, ‘कार्यकर्ताको माया, हिन्दुराष्ट्र र राजसंस्था फर्काउने अभियानमा निरन्तर लागिरहन्छु, यस्तो अपमानले मलाई केही फरक पर्दैन ।’
उनले नेतृत्व हस्तान्तरणको विषयमा बोल्दा अपमान गर्ने काम हुनु विडम्बना भएको बताए ।
उनले आफूलगायत धेरै नेताहरु अपमानित भएको बताउँदै सबैलाई संयमित रहन समेत अनुरोध गरे । ‘सबै साथीहरुलाई म संयमित रहन अनुरोध गर्दछु । सबै मिलेर पार्टीलाई अवश्यक माथि पुर्याइनेछ’, उनले भने ।
पछिल्लो समय राप्रपाभित्र तीव्र अन्तरविरोध रहेको छ । यही अन्तरविरोधका बीच धवल शमशेर राणाले अब कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई अघि बढाउनुपर्ने बताउँदै आएका छन् ।
त्यसका लागि उनले आगामी महाधिवेशनबाट आफूलाई अध्यक्षका रुपमा अगाडि सारेका छन् ।
यसैगरी राप्रपाका अर्का नेता दीलनाथ गिरीले पनि पार्टीमा दोस्रो पुस्तालाई नेतृत्वमा अघि सार्ने एजेण्डा बोकेका नेताहरुलाई छानिछानी कमिटीमा नराखिएको भन्दै आक्रोश पोखे ।
‘राप्रपा पाटीलाई कुरूप बनाउने तीन घुडे रथका संवाहकको प्रतिस्पर्धाबाट झण्डै १८ महिनाको अभ्यासपछि विशेष समिति तथा निर्देशन समिति गठन गर्न सफल भएका छन् र तीन घोडे रथयात्रामा सहभागी हुने अवसर पाउनुहुने सबै यात्रीहरूको यात्रा सुखद मंगल रहोस मेरो शुभकामना छ’, उनले व्यंग्य मिश्रित कटाक्ष गर्दै भनेका छन्, ‘राप्रपा पाटी तेस्रो , चौथो शक्ति हुँदै शुन्यको अबस्थामा रूपान्तरण हुँदा पनि नेतृत्वले कहिल्यै जिम्मेवारी बोध गर्न सकेन ।’
तुलनात्मक रुपमा तत्कालीन राप्रपा संयुक्तको तर्फबाट समेटिनुपर्ने नेताहरु प्रायः समेटिएको भएपनि कमल थापाको पक्षबाट भने आलोचनात्मक चेत राख्ने नेताहरुलाई छानीछानी आउट गरिएको राप्रपाका एक नेताले बताए ।
ती नेताका अनुसार एकता अघिको राप्रपाको ५५ र राप्रपा संयुक्तको ४५ प्रतिशत प्रतिनिधित्व रहनेगरी पार्टी कमिटीमा प्रतिनिधित्व रहने गरिएको छ । ‘हामीले हाम्रो तर्फबाट दुबै कमिटीमा नाम बुझायौं, कमल थापाले आफ्नै तरिकाले नाम हाल्नुभएछ । पछि सार्वजनिक भएपछि पो सबै कुरा थाहा पाइयो’, राप्रपा संयुक्त निकट एक नेताले रातोपाटीलाई बताए ।
कसैले नेतृत्वको आलोचना गर्दैमा वा युवा पुस्ताको नेतृत्व हुनुपर्छ भन्दैमा पूर्वाग्रही ढंगले कारबाहीको डण्डा चलाइनु गलत भएको उनको भनाइ छ ।
यता राप्रपा अध्यक्ष कमल थापाले अब पछाडि फर्केर नहेर्ने भन्दै टिप्पणी ट्वीटरमा गरेका छन् ।



