श्रीलङ्का : महिन्दा राजापाक्षे देश छोडेर भारत गए ? के भन्छन् छोरा ?

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवार देश छाडेर गएको अड्कलबाजी सुरु भएको थियो तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलङ्कामा रहेको र देश नछोड्ने बताए ।

महिन्दा राजापाक्षका छोरा तथा देशका खेलकुद मन्त्री नमल राजापाक्षेले एएफपी समाचार एजेन्सीलाई भने, ‘राजापाक्षे परिवारको देश छोड्ने कुनै योजना छैन । हामी देश छोडेर भाग्न लागेका छौँ भनेर धेरै किसिमका हल्ला फैलिए तर हामी देश छोड्ने छैनौँ ।’

अज्ञात सेनाको बेसमा शरण लिइरहेका महिन्दा राजापाक्षेबारे उनका छोराले बुवा सकुशल रहेको र परिवारसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

महिन्दा राजपाक्षे परिवारसहित देश छोडेर भारत आएका भनिएको थियो, यो दाबीलाई श्रीलङ्कास्थित भारतीय उच्चायोगले खारेज गर्दै ट्वीट गरेको थियो ।

भारतीय उच्चायोगले लेखेको छ, ‘उच्चायोगले केही राजनीतिक व्यक्ति र उनीहरुका परिवार श्रीलङ्काबाट भागेर भारत गएको हल्ला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको थाहा पाएको छ । यी झुटा र मनगढन्ते रिपोर्ट हुन्, जसमा कुनै सत्यता छैन । उच्च आयोगले यसलाई कडाइका साथ अस्वीकार गर्दछ ।


महिन्दा राजापाक्षे श्रीलङ्काको राजनीतिक राजपाक्षे परिवारका प्रमुख हुन् । यस परिवारको विरुद्ध देशमा चर्को विरोध भइरहेको छ । श्रीलङ्का सन् १९४८ मा आफ्नो स्वतन्त्रता पछिकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ र आन्दोलनकारी जनताले देशको दुर्दशाको लागि राजापाक्षे परिवार जिम्मेवार रहेको विश्वास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button