ओलीज्यू,काम गर्न नदिएको एउटा प्रमाण जुटाउनुस : प्रचण्ड

२९ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको एउटा प्रमाण दिन चुनौती दिएका छन् ।

बुधबार नेकपा प्रचण्ड–नेपाल समूह काठमाडौं कमिटीले गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई यस्तो चुनौती दिएका हुन् ।

‘केपी ओलीले हामीले काम गर्न नदिएको आरोप लगाउनु भएको छ ।केपीजी एउटा प्रमाण दिनुहोस्’, प्रचण्डले भने, ‘काम गर्न दिएनन् भनेर एउटा प्रमाण दिन चुनौती दिन्छु ।’  

प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको आन्दोलनले आँधी हुरी ल्याउने बताउँदै प्रचण्डले ओलीको नौटंकी र राजनीतिक जोकरका पछाडि कोही नलाग्ने बताए । ‘अब केपी ओलीको नौटंकी र राजनीतिक जोकरपनको पछाडि कोही लाग्ने छैन’, प्रचण्डले भने ।

आफूहरुलाई भगौडा भनेको प्रति आपत्ति जनाउँदै प्रचण्डले ओलीमाथि प्रश्न गरेका छन् ।

‘हामीलाई भगौडा भन्नु भएछ । ७२ प्रतिशत केन्द्रीय समिति भगौडा ३० प्रतिशतसमेत नभएको चाहिँ रैथाने ?’, प्रचण्डले प्रश्न गर्दै भने ।

पार्टी बैठक गारौँ भनेर लाइन लागेर जाँदा बैठक नगर्ने ओली आफै भगौडा भएको उनको भनाइ छ ।‘बैठक गरौँ भनेर लाइन लागेर जाँदा बैठकबाट भाग्ने उहाँचाहिँ भगौडा नहुने,  हामी चाहिँ भगौडा हुने ?’ ,  प्रचण्डले थप प्रश्न गर्दै भने, ‘पार्टीलाई लात हानेर भाग्नेचाहिँ भगौडा नहुने हामी चाहिँ भगौडा ? मानिसमा अलिअलि लाज पनि हुनुपर्ने नि !’

प्रचण्डले ओलीलाई पूर्वएमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमले छोडेपछि पनि ओलीले आफूलाई राम्रोसँग नहरेको आरोप लगाए । उनले एक पटक ओलीलाई ऐना हेर्न सुझाएका छन् । 

‘एक पटक ऐनाको अगाडि राम्रोसँग आफ्नो अनुहार हेर्नु पर्दैन केपी ओलीले ?’, प्रचण्डले भने, ‘सबै साथीले छोडे पनि प्रचण्डलाई यत्तिसाह्रै खेद्नु पर्नेै कारण के पर्यो ?’ 

ओलीले कुर्सी छोड्नुपर्छ भनेर कुर्सी मात्र नभएर संविधान नै भाँचेको आरोप उनले लगाए । ‘छोड्नुपर्दा कुर्सी नै भाँचेर छोड्नुभयो । उहाँले त संविधान नै भाँच्नुभयो’, प्रचण्डले प्रश्न गर्दै भने, ‘राष्ट्र नै बर्बाद पार्ने ठाउँसम्म जाने ?’ 

‘प्रतिनिधिसभा विघटन गरेर पनि उहाँ हाँसिराख्नु भएको छ’, प्रचण्डले भने, ‘यो सबै देख्दा ताण्डव नृत्य जस्तो लाग्छ ।’ 

कमिलाको प्वाँख उम्रिएपछि सिद्धिने भन्दै प्रचण्डले अब ओलीको प्वाँख पलाएको बताए ।  ‘कमिलाको प्वाँख उमिएपछि सिद्धिन्छ भन्छन् । उहाँको पनि प्वाँख उम्रिएको छ’, प्रचण्डले भने, ‘यो कुरा जनताले थाहा पाएका छन् ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button