
सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने बताए । ‘अदालतले अन्ततः हेर्ने संविधान हो । संविधान अनुसार संसद विघटन भएको छैन,’ प्रचण्डले भने ।

उनले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै भने, ‘त्यतिबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।’
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएको उल्लेख गर्दै प्रचण्डले अहिले भने कांग्रेस दोधारमा नरहेको बताए ।
‘पहिलोपटक चाहिं नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस यो प्रतिगमन नै हो भन्नेमा छ । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै हुनुहुन्छ, जनमोर्चा पनि साथमा छ,’ प्रचण्डले भने ।
उनले संविधान निर्माणका बेला संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजान नेता कार्यकर्तालाई आग्रह गरे ।
राउटे बस्तीमा अन्य व्यक्ति जान रोक
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
‘पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका हौं,’ उनले भने ।
उनका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।
राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए ।
आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।
जेठ २१ गते राति गुर्भाकोट–९ बोटेचौरको एक होटलमा राउटे युवतीलाई मदिरा सेवन गराई यौन हिंसा गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । बोटेचौरका चमनसिंह घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक मिलन पुनलाई आइतबार प्रहरिले पक्राउ गरेको हो ।



