
माधव नेपालको नयाँ पार्टी चल्दैन : गोकुल बाँस्कोटा
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालद्वारा बनाइने नयाँ पार्टी नटिक्ने बताएका छन् । त्यस्तो पार्टीको जनाधार एमालेको भन्दा भिन्नै नहुने भएकाले नयाँ पार्टी राष्ट्रिय जनमोर्चाजस्तै सानो हुने बास्कोटाको दाबी छ ।

उही नाम र उही ब्रान्डको पार्टी चल्दैन । उत्पातै नाम राख्दा एमाले क्रान्तिकारी राख्ने होला । तर, मान्छेहरु को हुन् त भन्दा यिनै हुन्’ बास्कोटाले रातोपाटीसँग भने, ‘समर्थक वा उनीहरूप्रति सहानुभूति राख्ने जनमत पनि एमालेकै हो, यसकारण अर्को पार्टी बनाउन माधव नेपाललाई धेरै कठिन छ ।’

माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेर पनि कारवाही किन भएको भन्ने प्रश्नमा बास्कोटाको जवाफ छ,‘योचाहिँ ट्याक्टिल मुभ हो । कार्वाही गर्ने/नगर्ने भन्ने कुरा कार्यनीतिक विषय हो ।’
एमालेको विवादबारे पूर्वमन्त्री बाँस्कोटाको विचार उनकै शब्दमा–
माधव नेपालले विकल्पहरुको छनोट खोजेका हुन सक्छन् । विकल्पको छनोट खोज्दाखेरि उही नाम र उही ब्राण्डको पार्टी त चल्दैन । उत्पातै नाम राख्दा ‘एमाले क्रान्तिकारी’ राख्ने होला । तर, मान्छेहरु को हुन् त भन्दा यिनै हुन् ।
समर्थक वा उनीहरुप्रति सहानुभूति राख्ने जनमत कुन त भन्दा त्यही एमालेकै हो । अर्को छुट्टै कुनै समूह आउँछजस्तो लाग्दैन । यसकारणले गर्दा अर्को पार्टी बनाउन माधव नेपाललाई धेरै कठिन छ ।
दोस्रो कुरा, नयाँ पार्टी बनाउनका लागि त्यस्तो नेतृत्व, व्यक्तित्व, कृतित्व वा कुनै करिस्म्याटिक नारा लिएर माधव नेपाल आउन सक्ने अवस्था छैन, जहाँ अरु जनमत पनि आकर्षित होस् । यसो हुँदाखेरि माधव नेपाल असन्तुष्टहरुको मात्र नेता हुने भए ।
असन्तुष्ट जनमत होइन, असन्तुष्ट कार्यकर्ताको उनी नेता हुने भए । त्यसो भइसकेपछि त्यो टिक्दैन । बनिहाल्यो भने जनमोर्चाको हालत हुन्छ ।
त्यसैले, माधव नेपालसँग नयाँ पार्टी बनाउने नयाँ जनमतको आधार पनि भएन । माओवादीमा जाऔं भने उनलाई साथ दिने कोही पनि भएन । नेताहरु अलिअलि हुन्छन्, तर कार्यकर्ता र जनमत भएन ।
त्यसैले मेरो विचारमा माधव नेपालसँग अर्को छुट्टै पार्टी बनाउने वा जनमतसहित बोकेर अगाडि जाने आधार भएन । नेताहरुचाहिँ हुने भए । तर, को नेताहरु त भन्दा अन्तरसंघर्षका कारणले व्यक्तिगत दुस्मनी वा कुण्ठा बोक्ने नेताहरुको समूह हुने भयो ।
जनमत र राजनीतिक विचारका आधारले भन्दा पनि व्यक्तिगत दुस्मनीका कारणले यताउता भएका नेताहरु मात्र हुने भए । माधव नेपालसँग यसखालका नेताहरुको पंक्ति रहने भयो । तर, कार्यकर्ताको पंक्ति हल्लिएन ।
माधव नेपाल पनि टेस्टेड नेता हुन् । उनले यसवीचमा जे सिद्धान्त उठाए, त्यसको विपरीत काम गरे । विधि पद्दति र अनुशासनको कुरा गर्नेले फ्लोर क्रस गर्न हुने कि नहुने ? तात्तातोमा त जसले पनि जस्टिफाई गर्न कोसिस गर्छ । तर, प्रकारान्तरले त्यो हुँदैन ।
एमालेको आम जनमत भनेको मध्यम वर्गीय हो । एमाले र काँग्रेसको जनमतको आधारभूत भिन्नता म धेरै देख्दिनँ । तुलनात्मक रुपमा काँग्रेसभन्दा एमाले बढी प्रगतिशील हो ।
तल्लो वर्गमा मुद्दा पनि सरकारमा हुँदा उठाइदिन्छ, बोकेर हिँड्दिन्छ । तर, पार्टीको बेस भनेको त निम्न मध्यमवर्गीय हो । काँग्रेसले इलाइटहरुलाई पनि समेटेको छ, बदलामा एमालेले श्रमिकहरुलाई समेटेको छ, यत्ति हो ।
अब माओवादीमा जाने हो भने माधव नेपाललाई एउटा समस्या के देखिन्छ भने माओवादीको नाम र कामको हिसाबले त्यसमा अन्तरराष्ट्रिय सहयोग र समर्थन देखिँदैन । पश्चिमी देश, भारत वा चीन कहीँबाट पनि देखिन्न ।
माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएन पनि तत्कालै कारवाही किन भएन त भन्दा योचाहिँ ‘ट्याक्टिल मुभ’ हो । कार्वाही गर्ने÷नगर्ने भन्ने कुरा कार्यनीतिक विषय हो । यो कुनै रणनीतिक विषय भएन ।
कारवाही किन गरिएन त भन्दा त्यहाँभित्र एउटा मत उठेको छ । फर्किने ठाउँ पाइएन भन्ने छ । फर्किने ठाउँ के भयो भने हुन्छ त ? उनीहरुको तर्क भनेको जेठ २ हो । जेठ २ मान्दियो भने हुन्छ भनेपछि त्यो किन नमान्ने त । ल जेठ २ मान्दिउँ ।
जेठ २ लाई मान्दाखेरि बादलहरु निस्काशित हुने पनि होइन । त्यो त यसै एड्रेस भइसक्यो । त्यो (बादल समूह) हिजोको नेकपाको ४४१ मा पसेको न हो । अहिले भर्खर पार्टी फुटेर बादल आएको भएचाहिँ त्यसमा प्रश्न उठाउने ठाउँ हुन्थ्यो । त्यसैले बादललाई हटाउने कुरै छैन ।
माधव नेपालले चाहेको संस्थागत गुटबन्दीको अभ्याससहित फर्किन्छु भन्ने हो, त्यो केपी ओलीले मान्नुहुन्न । उहाँले जे २ मान्नुहुन्छ । तर, बार्गेनिङ गरेर मेरो यो संख्या र त्यो संख्या भन्ने केही पनि मान्नुहुन्न ।
पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास र अडान हो : गोकर्ण विष्ट
एमाले नेता गोकर्ण विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका पक्षमा निरन्तर लागिरहने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गर्दै एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि झुठा प्रचार गराउँदैछन् ? भन्दै प्रश्न गरेका छन् ।
पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो’, विष्टले भनेका छन्,
हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’ विष्टसहित सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई ओली समुहका नेताहरुसँग निरन्तर संवादमा छन् ।



