
उपेन्द्रले राजेन्द्रलाई सोधेको ६ बुँदे स्पष्टीकरण पत्रमा के छ ?
जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे स्पष्टीकरण सोधेका छन् ।

पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षरबाट सोधिएको पत्रमा भनिएको छ, ‘केही दिनदेखि तपाईंको काम कारवाही र क्रियाकलापहरू जसपाको नीति एवं विधि विधान विपरित भइरहेको हुँदा कार्यकारिणी समितिको जेठ ८ गते सम्पन्न बैठकले तपाईंलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको छ । तीनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन हुन अनुरोध छ ।’

राजेन्द्र महतोलाई सोधिएको ६ बुँदा स्पष्टीकरण यस्तो छ
१. प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?
२. पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?
३. पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा तपाईं किन र के आधारमा संसदीय दलको नेता स्वयम् घोषित हुन पुग्नुभयो ?
४. पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनि लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कार्यदल भएको कुरालाई किन र के आधारमा समर्थन गरी पार्टी नीति निर्णय विपरितको कामलाई प्रश्रय किन दिनुभयो ?
५. पार्टी विधानको व्यवस्था विपरित पार्टीभित्र स्वेच्छाचारिता लाद्ने र पार्टीलाई पकेट बनाउने काममा निरन्तर सहयोग तथा सघाउने कार्य किन गर्नुभएको ?
६. उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारवाही किन नगर्ने ? यस सन्दर्भमा यो पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएका तपाईलाई पार्टी विधानबमोजिम अनुशासनको कारवाही हुनेछ ।

एमालेका १२ नेताको स्पष्टीकरण ‘एक दिन’ होल्ड : आज पठाइँदै
नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।
सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण बुधबारमात्रै पठाउने भएको हो ।
बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णय अनुसार बुधबार पत्र पठाउन लागिएको एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठकले सोमबार निर्णय गरेको भएपनि पत्र तयार पार्न समय लागेकाले बुधबारमात्रै स्पष्टीकरणको पत्र पठाउन लागिएको तामाङको भनाइ छ । ‘पत्र तयार भएपछि आज पार्टी अध्यक्षले सहि गर्नुहुन्छ अनि पठाउँछौ’, तामाङले भने, ‘ सवै उपाय अपनाएर इमेल, भाइबर र हार्ड कपि पठाउँछौ ।’
एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो ।



