प्रधानमन्त्री ओलीलाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा रिट पेस

काठमाडौ । संसद विघटनको निर्णय गरेपछि प्रधानमन्त्री केपी ओली विरुद्ध सर्वोच्चमा रिट दिनेहरुको ताँती लागेको छ । एक दर्जन अधिवक्ताहरुले उनी विरुद्धको रिटमा वहस गर्ने भएका छन् ।

तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीलाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । ओलीले अदालतको अवहेलनाको गम्भीर कसुर गरेको उनको ठहर छ ।

त्रिपाठीले ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई हदैसम्मको कारबाही माग गरेका छन् । सर्वोच्चमा यस्तो रिट लिएर पुगेका त्रिपाठीको रिट सर्वोच्चले अहिले सम्म दर्ता भने गरेको छैन ।

न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सजाय गर्न त्रिपाठीको रिटमा माग गरिएको छ।

आफुले यस अघि संसद विघटन गरेको फैसलालाई सर्वोच्चले असंवैधानिक ठहर गरिसकेपछि पनि ओलीले सोही गल्ती दोहोर्याएका कारण सर्वोच्च अदालतको अपहेलना भएको उनको तर्क छ ।

‘अदालतले गरेको प्रतिनिधि सभाको पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत सुरुदेखि नै राखेको देखिन्छ। त्यसैले निजले प्रतिनधि सभालाई कुनै पनि मौका नदिएर हठात संसदको अधिवेशनलाई अन्त्य गर्नुभयो,’ रिटमा भनिएको छ, ‘तत्पश्चात निज बिपक्षी बिश्वासको मतमा पराजित भएपछि झन प्रतिशोध एवं बदनियतपूर्ण तरिकाले २०७८–२–८ गते प्रतिनिधि सभालाई पुनः बिघटित गर्नुभयो। सम्मानित अदालतको यो गम्भीर अवहेलना हो।’

जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिनुभएको छ ।

कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइ गरिरहनुपर्ने भयो ।’’

उहाँले कोभिड १९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको समेत बताउनुभयो । सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र स्रोत साधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्याङ्क हासिल गरी उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने बताउनुभयो ।

‘‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ?कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग खोप कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ ।’’ उहाँले भन्नुभयो ।

विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्विड अक्जिजन सिलिण्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गर्नुभयो । यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएको समेत प्रधानमन्त्रीले बताउनुभयो ।

चितवनमा डाक्टर भन्छन्, खोप लगाएपछि संक्रमितको नजिक जान डर लाग्न छोड्यो

कोभिड १९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिइरहेका छन् ।

सङ्क्रमण निकै फैलिएको छ, सङ्क्रमित गम्भीर हुने सङ्ख्या पनि धेरै छ । पहिलो लहरको तुलनामा दोस्रो लहरको सङ्क्रमणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी लगायतका कमै सङ्क्रमित भएका छन् ।

दोस्रो लहरमा अहिलेसम्म अग्रमोर्चामा काम गर्ने जिल्लामा कसैले ज्यान गुमाउनु परेको छैन । जिल्लाको तथ्याङ्क केलाईरहनु भएका स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकाल हालसम्म दुई डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु नभएको बताउनुहुन्छ ।

उहाँको भनाइमा वैशाख यता ५ हजार ८४६ जना सङ्क्रमित भएका छन् । उनीहरु मध्ये टेलिफोन लाग्नेहरुलाई सोध्दा ९० प्रतिशत एक डोज भ्याक्सिन पनि नलगाएको रहेको उहाँले जानकारी दिनुभयो । १० प्रतिशतमा कार्यालयको जानकारीमा न्यून सङ्ख्यामा मात्रै दुई डोज लगाएका रहेको उहाँको भनाइ छ ।

जिल्लामा चैत ३१ पहिले स्वास्थ्यकर्मी ४९३ जना सङ्क्रमित भएका थिए । त्यस यता १५५ जना सङक्रमित भएका छन् । ती मध्ये केहीले भ्याक्सिन लगाएको भए पनि अन्यले लगाएका छैनन् । दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको उहाँ बताउनुहुन्छ ।

कार्यालयका प्रमुख दिपक तिवारी हालसम्म डबल डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु भएको जानकारी नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “दोस्रो डोज लगाएर १५ दिन कटेकालाई सङ्क्रमण भईहाले पनि अवस्था सामान्य नै छ ।”

अग्रपंक्तिमा काम गर्नेहरुलाई भ्याक्सिनले बचाएको तिवारी बताउनुहुन्छ । उहाँले अगाडि भन्नुभयो “दोस्रो डोज लगाएर १५ दिन कटेकाहरु अस्पताल भर्ना हुनु परेको छैन ।” अन्य कारणबाट अस्पताल भर्ना भए पनि कोभिडकै कारण अस्पताल भर्ना हुनु पर्ने अवस्था नआएको उहाँको भनाइ छ ।

पहिलेभन्दा अहिले सङ्क्रमित निकै गम्भीर बनेको भए पनि भ्याक्सिनकै कारण स्वास्थ्यकर्मी सुरक्षित रहन सकेको तिवारीको तर्क छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने अध्ययनले पनि दुई डोज लगाईसकेकाहरुको सङ्क्रमण दर निकै कम भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “भ्याक्सिनकै कारण आज स्वास्थ्यकर्मी निर्धक्कसँग काम गरिरहेका छन् ।” भ्याक्सिन लगाएकाहरुको मनोबल उच्च रहेकाले अस्पताल व्यवस्थापनमा पनि सहज भएको न्यौपानेको भनाइ छ ।

पहिलेको तुलनामा सघन उपचार कक्षको क्षमता चार गुणभन्दा बढी बढाइएको छ । प्रत्यक्ष सङ्क्रमितहरुसँग काम गर्नुपर्ने स्वास्थ्यकर्मीको सङ्ख्या निकै बढी छ । भ्याक्सिनकै कारण सङ्क्रमितसँगै रहेर काम गर्दा समेत सुरक्षित हुन सकेको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “भ्याक्सिनले काम नगरेको भए अस्पताल व्यवस्थापन गर्न कठिन हुन्थ्यो ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालहरुले क्षमता चार गुणभन्दा बढी थप्दा समेत स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न सकेको बताउनुहुन्छ ।

पहिले स्वास्थ्यकर्मी निकै त्रसित हुने सङ्क्रमित वरपरसम्म पुग्न डराउने गरेको भन्दै उहाँले भन्नुभयो “अहिले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई प्रत्यक्ष छोएर उपचार गर्दा समेत बचेका छन् ।” दैनिक आफू काम गरेको अस्पतालमा सङ्क्रमितको मृत्यु भईरहँदा पनि स्वास्थ्यकर्मीले निर्धक्कसाथ काम गरिरहेको उहाँको तर्क छ ।

दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको र हालसम्म यहाँ मृत्यु नभएका कारण स्वास्थ्यकर्मीमा मनोबल उच्च रहेको अधिकारी बताउनुहुन्छ ।

पहिलो लहरमा सङ्क्रमितहरुमा लक्षण कम र सामान्य अवस्थामा थिए, अहिले अधिकांश अस्पताल आउने गम्भीर रहेका छन् । तिनै गम्भीर सङ्क्रमितको बीचमा रहेर काम गर्दा समेत स्वास्थ्यकर्मीमा त्रास नभएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिलेकै अवस्थामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको भए उपचारमा समस्या आउँथ्यो ।”

नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार तिलक रिमालका अनुसार भ्याक्सिन लगाएका पत्रकार कम सङक्रमित भएका छन् । वैशाख यता सङ्क्रमित ६ जना पत्रकार मध्ये ४ जनाले भ्याक्सिन लगाएका छैनन् ।

भ्याक्सिन लगाएका दुई जनालाई खासै समस्या नदेखिएको उहाँले जानकारी दिनुभयो । वैशाख अघि जिल्लाका १६ जना पत्रकार सङ्क्रमित भएका थिए । उहाँले भन्नुभयो “चितवन अहिले हटस्पट बनिरहेको छ, पत्रकारहरु काममा हिड्नुहुन्छ, तर भ्याक्सिनले बचाएको छ ।”

जिल्लामा पहिलो भ्याक्सिन २०७७ माघ १४ देखि २४ गतेसम्म अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वयंसेविका, कैदीबन्दी र बृद्धाश्रमका बृद्धबृद्धालाई लगाईएको थियो । त्यतिबेला ६ हजार ९७३ जनाले भ्याक्सिन लगाएकोमा ४ हजार ३९७ जना स्वास्थ्यकर्मी रहेका थिए । दोस्रो चरण गत फागुन २ देखि १० गतेसम्म स्थानीय तहका कर्मचारी, निजामती, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि लगायतलाई भ्याक्सिनन लगाइएको थियो ।

यो चरणमा ६ हजार ५२७ जनाले भ्याक्सिन लगाएकोमा ६३९ जना छुटेका स्वास्थ्यकर्मी रहेका थिए । तेस्रो पटक ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेबाट चैत २ गतेसम्म भ्याक्सिन लगाइएको थियो ।

त्यतिबेला ३६ हजार ३७९ जनाले भ्याक्सिन लगाएका छन् । पहिलो र दोस्रो चरणमा लगाएकाहरुलाई वैशाख ७ गतेदेखि १३ गतेसम्म दोस्रो डोज भ्याक्सिन लगाइएको थियो ।

ज्येष्ठ नागरिक बाहेक अन्यले दोस्रो डोज लगाइसकेका छन् । केही छुटेका बाहेक अन्यले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । छुटेकाहरुलाई पनि लगत सङ्कलन गरेर लगाइने तयारी गरिएको छ । जिल्लामा हालसम्म १२ हजार ८५६ जना सङक्रमित भएका छन् भने २०१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button