
प्रतिनिधिसभा विघटनको चौतर्फी आलोचना, कुन नेताले के भने ?
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातपछाडि प्रतिनिधिसभा भंग गर्नुका साथै मध्यावधि चुनाव घोषणा गरेकी छन्। मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा भंगका साथै मध्यावधि निर्वाचनको मिति सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दाबी गर्दै सरकारले संसद भंग र मध्यावधि चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रपति भण्डारीले सरकार बनाउन केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले राष्ट्रपतिसमक्ष पेश गरेको दलिल मान्न नसकिने जिकिर गर्दै शुक्रबार मध्यरातमा विज्ञप्ति जारी गरेकी थिइन्। यो संगै अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन्। प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन्।
उनले लेखेका छन्,’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’
त्यस्तै जनता समाजबादी पार्टीका नेता बाबुराम भट्राईले यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने प्रपन्च भन्दै यसको विरोधमा उत्रन आग्रह गरेका छन् ।
विघटनको विरोधमा विवेकशील साझा पार्टीपनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले प्रम र राष्ट्रपति मिलेर संसदको हत्या गरेको आरोप लगाएका छन्। ‘यो सत्ता कव्जा गर्ने षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दैनौ ।
माओवादी केन्द्रका नेता बर्षमान पुनले लोकतन्त्रमाथीको प्रहार भन्दै संविधन कुल्चेको बताएका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीट गरेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरातमै रोज्थे ।’
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गैरराजनीतिक र गैरसंबैधानिक कदमले देशलाई काहालिलाग्दो द्धन्दमा लगेको बताएका छन्।
अन्ततः ओलीले जे चाहे त्यहि गरिन राष्ट्रपति भण्डारीले, पुनः प्रतिनिधिसभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते
मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका दुवै दावी खारेज गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
शुक्रबार मध्यरात बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि आजै मध्यरात राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गर्दै खारेज गरेकी थिईन ।
राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ ।
त्यस्तै सभापति देउवालाई कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ । राष्ट्रपतिले आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी थिइन् ।




