
दूध खुवाएर पालेका साँपले डसे : गोकुल बाँस्कोटा
पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बाँस्कोटाले रामबहादुर थापा राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भएपछि दूध खुवाएर पालेका साँपले डसेको प्रतिक्रिया दिएका छन्।

विपक्षीसँग कुनै गुनासो नभएको भन्दै उनले आफ्नै पार्टीका मान्छेले आधिकारिक उम्मेदवारलाई मतदान नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। बाँस्कोटाले समयको अन्त्य नभएर यो सुरुवात मात्र भएकोसमेत उल्लेख गरेका छन्।

एमालेबाट बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवार बनेका थिए। उनलाई स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेपछि बाँस्कोटाको यो प्रतिक्रिया आएको हो।
‘दुध खुवाएर पालेका साँपले डसेका हुन्’, थापालाई चुनाव जिताउन हेटौंडासम्मै पुगेका बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘विक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’
जसपा कार्यकारिणी समिति बैठक स्थगित
जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगित गरेका हुन् ।
‘यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो महामारीको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ ।
यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी नभई आफ्नै दलका नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने र नभए प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्ने सहमति भएको थियो । दुवै अध्यक्षका सहमतिमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो ।
यसैबीच अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । उक्त बैठकका सम्बन्धमा यादव र डा. भट्टराई पक्षलाई जानकारी नगराइएको जनाइएको छ ।
ठाकुर–महतो समूहले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयनसमेत गरिसकेको छ । सो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ ।



