माधव नेपालले धोका दिएको भन्दिनँ, फेरि भेट हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालले धोका दिएको भन्न अहिले नै नमिल्ने बताएका छन्।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्न बिहीबारसम्म असफल भएकामध्ये एक विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि नेता नेपालसँग आफूहरूको भेट हुने सम्भावना रहेको बताए।

‘अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न। अहिले भर्खर पनि हामी कुरा गर्दै थियौं,’ उनले पत्रकारहरूसँग आज भने, ‘उहाँभित्र केही समस्या भए होलान्। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ।’

एमालेभित्र देखिएका विवाद समाधानतर्फ गइरहेका छन्। अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका चार नेतालाई निलम्बन फुकुवा गरेर वार्ता गरेसँगै बिहीबार उनीहरूले सांसद पदबाट राजीनामा रोकेका थिए।

यसैबीच प्रचण्डले फेरि नेता नेपालसँग भेट हुने उल्लेख गरेका छन्।

संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था आएमा नेता नेपाल पक्षको सहयोग रहन सक्ने सम्भावना प्रचण्डको छ।

‘म आशा गर्छु कि- उहाँहरू सत्य र लोकतन्त्र तथा संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने ठान्छु,’ ७६ (५) मा भेट हुन सक्छ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो पनि हुन सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button