
माधव पक्षका यस्ता सर्त ओलीले मानेपछि, माधव पनि लचिलो, अब नेपाल सहितको स्थायी कमिटी बैठक बस्दै
नेकपा एमालेमा विहिवार चमत्कारीक रुपमा एकताका पक्षमा केही देखिने काम भएका छन् । विहिवार राष्ट्रपति विद्या देवी भण्डारीले दिएको नयाँ सरकारको समय सिमा सकिनै लागेको बेलामा एमालेमा चमत्कारीक परिवर्तन भएको हो ।

लामो समय देखि सम्बाद हिनताको अवस्थामा रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधव कुमार नेपालबीच विहिवार पटक पटक टेलिफोन वार्ता भएको छ ।

माधव पक्षका केही सर्त ओली मान्न तयार भएका छन् भने ओली पक्षका केही सर्त मान्न नेपाल पनि लचिलो बनेको बताइएको छ । नेपाल पक्षले राख्दै आएको सर्त पार्टीलाई जेठ ३ कै अवस्थामा फर्काउनुपर्ने कुरामा ओली सहमत भएका छन् ।
तर अहिले माओवादी केन्द्र छोडेर एमालेमा आएका रामबहादुर थापा बादल लगायतका नेतालाई पनि समेट्नु पर्ने ओलीको अडानमा नेता नेपाल लचिलो बनेको बताईएको छ ।
यहि विषयमा दुई नेताबीच सहमति जुट्न सके विहिवार नै नेपाल र वादल सहितको एमाले स्थायी कमिटी बैठक बस्ने र बाँकी विवाद रहेका विषयहरुमा पनि टुंगो लगाउन सकिने एक नेताले बताए ।
ओलीले माधव पक्षसहितको स्थायी कमिटी बैठक आजै बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।
स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ । नेपाल र वादल सहितको स्थायी कमिटी बैठक पछि तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भए पछि एमालेमा चमत्कारीक परिवर्तनको संकेत देखिएको हो ।
यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी कमिटीको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो ।



