
अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउँछ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन् ।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए ।
उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित् हामी काभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए ।
कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताए । उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट । नुन पानीले गाल गुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।
अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने हो केही प्रसेन्ट बाँकी रहन्छ त्यही केही प्रसेन्टभित्र परियो भने गैगयो नी ।
त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’