डिजिटल नेपालको यात्रा शुरु भयो :प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले माटोको डिजिटल नक्साको औपचारिक उद्घाटन गरेका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग (युएसए आइडी) को आर्थिक सहयोगमा उक्त नक्सा तयार गरेको हो ।
अन्तराष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्र (समिट) द्वारा सञ्चालित नेपाल बीउ तथा मल परियोजना (एनसाफ) ले नेपालका विभिन्न गाउँ विशेषको माटोको अवस्था झल्कने डिजिटल नक्सा तयार पारेको मन्त्तत्रालले जनाएको छ ।
यो नक्साबाट भौगोलिक स्थान विशेषको माटोका प्रकार थाहा पाउन सकिने मन्त्रालयले जनाएको छ । यसबाट माटोमा रहेको अम्लीयपना, प्राङ्गारिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा, सुक्ष्म पोषक तत्व, जिङ्क तथा बोरोनाको मात्रा थाहा पाउन मद्दत गर्ने मन्त्रालयको दावी छ ।
यसको सहयोगबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका छनौट गरी त्यहाँको माटोको अवस्था थाहा पाउन सकिन्छ । यसको विशेषता नै आफ्नो रुची र आवशयकताको आधारमा एक क्लिकमा कुनै क्षेत्रको माटोमा रहेको गुणको बारेमा जानकारी पाउनु हो ।
डिजिटल नक्साको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश ‘डिजिटल नेपाल’ को यात्रामा अघि बढिसकेको बताए ।
अब देशका जुनसुकै कुनाको माटोको बारेमा जानकारी पाउनका लागि एक क्लिक गरे पुग्ने गरी प्रविधि तयार भएको र यो सार्क मुलुकमै पहिलो भएको उनले दावी गरे ।
अब किसानले माटो पोको पारेर ल्याबहरुमा धाउने दिन समाप्त भएको बताउँदै उनले अब आफ्नै खेतबारीमा मोबाइल तथा कम्प्युटरबाट माटोको जानकारी लिन सकिने बताए ।
उनले आफू जति दिन सरकारको नेतृत्वमा रहिन्छ, त्यति दिन राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।
उनले सर्वोच्च अदालतको निर्णय समान्य भएको र त्यसबाट आफूहरुलाई कुनै चिन्ता नभएको बताउँदै जति दिन सरकारमा रहिन्छ देश विकासका लागि काम गर्ने बताए ।
यद्यपि उनले अहिलेको सरकार केही वर्ष रहिरहने दावी गरे । प्रधानमन्त्री ओलीले भने, ‘अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनु भो र ?’ प्रधानमन्त्रीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफुलाई फरक नपरेको बताए ।