देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड–माधवको ‘अफर’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य सुरु भएको छ ।

बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो ।

देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन् ।

नेकपा उच्च स्रोतकाअनुसार तीन नेताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको आफुले पाएको बताए । ‘छलफल भयो । नेताहरु समझदारीबाटै अघि बढ्ने कुरामा सहमत हुनुभएको बुझिएको छ’ सापकोटाले जानकारी दिए ।  

यसअघि प्रचण्ड र माधव दुवै नेताले आफुहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई अगाडि सारेको बताएका थिए ।  ‘बुधबारको छलफलमा पनि उहाँहरु (प्रचण्ड–माधव) ले सोही कुरा प्रस्तावका रुपमा अगाडि सार्नुभयो । त्यसमा सभापति ज्यु पनि सकारात्मक हुनुहुन्छ’ देउवा निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘पार्टीमा छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’ 

देउवाका सहयोगी भानु देउवाले पनि प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड नेपाल आएको भन्दै ठोस समझदारी हुन बाँकी रहेको प्रतिक्रिया दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button