एमालेभित्र बीऊ रोपेर आएका छौं, केही समयभित्र फूल्छ, फल्छ हेर्नुहोला: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सच्चा कम्युनिष्टहरू एकीकृत र केन्द्रीकृत गरेर लैजाने बताएका छन्।

उनले विभाजित भई विभिन्न पार्टीमा लागेका माओवादीहरू पहिले एक हुनुपर्ने र बलियो शक्तिका रूपमा देखा परेपछि सबै कम्युनिष्ट एकै ठाउँमा उभिने उनले बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरू ओम पुन र शंकर खड्कालगायतलाई माओवादीमा प्रवेश गराउँदै आज प्रचण्डले भने, ‘माओवादीमात्रै मिलेर हुन्छ भन्ने भ्रममा नपरौं। माओवादी बाहिर रहेका सच्चा कम्युनिष्टहरूलाई पनि समेट्नुपर्छ। उनीहरू अवसरवादी छैनन्।’

उनले नेकपा एमालेभित्रको नेतृत्व प्रतिगमनकारी रहेको पनि बताएका थिए। उनले एमालेभित्रका कार्यकर्तालाई समाजवादको यात्रामा डोहोर्‍याउन सकिने बताएका थिए।

‘मैले तीन वर्ष अनुभव गरेँ- एमालेभित्रका कार्यकर्तालाई पनि समाजवादको यात्रामा डोहोर्‍याउन सकिन्छ। एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिन्छ,’ उनले भने, ‘त्यहाँ (एमालेभित्र) बीऊ रोपिएको छ हामी माओवादीले। हेर्नुहोला केही समयपछि फूल्छ, फल्छ।’

उनले विप्लव, मोहन वैद्य, धर्मेन्द्र बास्तोलालगायत सबैलाई माओवादीमा आउन पनि उनले आग्रह गरेका थिए।

‘साथीहरू एकपटक गम्भीर आत्मसमीक्षा गरौं। सबैले आफ्नो कमजोरी स्वीकार्ने आँट गरौं र एकठाउँमा ल्याऔं,’ उनले भने, ‘माओवादी पहिले एकठाउँमा हुनुपर्दछ भन्ने भावनालाई सम्मान गर्नुपर्छ।’

उनले माओवादी आन्दोलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव रहेको बताएका थिए। ‘फेरि प्रचण्डकहाँ जाने भनेर कसैले लाज नमानौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button