ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु, सामान्य नागरिकको के होला?: बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनी आइतबार उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिॅदै गर्दा आफू लज्जित/दु:खित भए छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’ उनले ट्वीटरमा लेखेका छन् । साथै, उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद दिएका छन् ।
पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली गएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका थिए ।
पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।
उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचारका लागि गएका हुन् ।
पेटमा समस्या देखिएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए ।